काठमाडौं । भारतको गोवामा मे २६ देखि सुरु हुने साफ महिला च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली घोषणा गरिएको छ । मुख्य प्रशिक्षक नवीन न्यौपानेले गोलकिपर एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा २३ सदस्यीय अन्तिम टोली सार्वजनिक गरेका हुन् । अखिल नेपाल फुटबल संघका अनुसार बन्द प्रशिक्षणमा रहेका ३५ खेलाडीबाट अन्तिम टोली छनोट गरिएको हो ।
नियमित कप्तान सावित्रा भण्डारी ‘साम्बा’ घुँडाको शल्यक्रियापछि हाल कतारमा पुनःस्थापनामा रहेकाले यस पटक टोलीको नेतृत्व एन्जिलाले गर्नेछिन् । साफ महिला च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा परेको छ । नेपालसँगै समूहमा भुटान र श्रीलंका रहेका छन् । नेपालले मे २६ मा भुटानसँग पहिलो खेल खेल्नेछ भने मे ३१ मा श्रीलंकासँग समूह चरणको अन्तिम खेल खेल्ने तालिका रहेको छ ।
राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल संघलाई निलम्बन गरेपछि नेपाली महिला टोलीको सहभागिता अन्योलमा परेको थियो । तर शुक्रबार परिषद्ले निलम्बन फुकुवा गरेपछि प्रतियोगितामा नेपालको सहभागिता सुनिश्चित भएको हो ।
घोषित टोलीमा गोलकिपरतर्फ एन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर र उषा नाथ रहेका छन् । डिफेन्डरतर्फ पूजा राना, गीता राना, विमला बिक, हिरा कुमारी भुजेल, प्रतिक्षा चौधरी, समीक्षा घिमिरे, निशा ठोकर र सबिना चौधरी समावेश छन् ।
मिडफिल्डरतर्फ रेनुका नगरकोटी, दीपा शाही, प्रीति राई, सरु लिम्बु, बिर्सना चौधरी, अनिता बस्नेत, अनिता लाम्जेल र अनिता केसी रहेका छन् । फरवार्डमा रश्मी घिसिङ, रेखा पौडेल, पूर्णिमा राई र मीना देउवा समेटिएका छन् ।