काठमाडौं । बागलुङको बडिगाड गाउँपालिकामा नेपालमै पहिलोपटक हरित हाइड्रोजन ग्यास प्रयोग गरेर खाना पकाउने प्रविधिको विकास गरिएको छ । खेर गइरहेको विद्युत् र पानीको प्रयोगबाट उत्पादन गरिएको हाइड्रोजन ग्यास सफल परीक्षणपछि अहिले सिलिण्डरमा भरेर चुलो बाल्न थालिएको हो ।
तीन वर्षअघि नमूना परियोजनाका रूपमा सुरु गरिएको अध्ययन तथा अनुसन्धान सफल भएपछि हरित हाइड्रोजन ग्यास उत्पादन गरी व्यावसायिक प्रयोगतर्फ अघि बढाइएको जनाइएको छ । परियोजनाअन्तर्गत उत्पादन गरिएको ग्यासबाट सजिलै खाना पकाउन सकिने देखिएको छ ।
परियोजना त्रिभुवन विश्वविद्यालयसहित विभिन्न देशका विश्वविद्यालय, वैज्ञानिक तथा प्राविधिक संस्थाको सहकार्यमा सञ्चालन गरिएको हो । परियोजनाले अब हाइड्रोजन ग्यासको सुरक्षित वितरण प्रणाली तथा व्यावसायिक विस्तारबारे थप अध्ययन गर्ने जनाएको छ ।
बडिगाड गाउँपालिका-२ स्थित गिरिङ्दिखोला लघु जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् प्रयोग गरी हाइड्रोजन ग्यास निकालिएको हो । विसं २०६६ मा स्थापना भएको उक्त आयोजनाको खपत नभई खेर गइरहेको विद्युत्लाई उपयोग गरेर नयाँ प्रविधिको परीक्षण गरिएको बताइएको छ ।
सात वटा साझेदार तथा प्राविधिक संस्थाको सहकार्यमा तीन वर्षदेखि गरिएको अध्ययनबाट हालसम्म आठ वटा सिलिण्डरमा हरित हाइड्रोजन ग्यास भरिएको छ । एक वर्षअघि गरिएको प्रारम्भिक परीक्षण सफल भएपछि अहिले सुरक्षित रूपमा सिलिण्डर भर्ने काम थालिएको हो ।
नेपाल इनर्जी फाउण्डेसनका अध्यक्ष मोहनदास मानन्धरका अनुसार पानीमा रहेको अक्सिजन अलग गरी हाइड्रोजन मात्रै निकालेर सिलिण्डरमा भर्ने प्रविधि प्रयोग गरिएको हो । आवश्यकता अनुसार उक्त ग्यास चुलोमा प्रयोग गर्न सकिने उनले बताए ।
नेपाल इनर्जी फाउण्डेसन, ऊर्जा र वातावरणका लागि महिला सञ्जाल नेपाल, एसएण्डएओ कम्पनी लिमिटेड बेलायत र एचएसएलयु स्विटजरल्याण्डको साझेदारी तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, बडिगाड गाउँपालिका र गिरिङ्दिखोला लघु जलविद्युत् आयोजनाको सहकार्यमा परियोजना सञ्चालन गरिएको हो ।
उत्पादन गरिएको हाइड्रोजन ग्यासबाट चुलो बालेर गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री जीतबहादुर शेरचनले शुक्रबार परियोजनाको उद्घाटन गरेका थिए । उनले हरित हाइड्रोजनले वातावरण संरक्षण, विद्युत् खपत वृद्धि तथा स्वदेशी ऊर्जाबाट खाना पकाउने सम्भावना बढाउने भएकाले यस्ता परियोजनालाई राज्यले प्राथमिकता दिनुपर्ने बताए ।
नेपाल इनर्जी फाउण्डेसनका व्यवस्थापक डिल्ली घिमिरेका अनुसार ग्यासलाई सुरक्षित रूपमा सिलिण्डरमा भर्ने विषयमा मात्रै १८ महिना अध्ययन गरिएको थियो । उनका अनुसार एक केजी हाइड्रोजन ग्यासले सानो परिवारलाई करिब एक सातासम्म खाना पकाउन पुग्नेछ ।
गिरिङ्दिखोला लघु जलविद्युत् सहकारीका अध्यक्ष बेलबहादुर थापाले खेर गइरहेको विद्युत्लाई उपयोग गरेर उपभोक्ताका लागि खाना पकाउने इन्धन उत्पादन गरिएको बताए । अब सुरक्षित र सर्वसुलभ सिलिण्डर विकास तथा विस्तारका विषयमा थप अध्ययन गरिने उनले जानकारी दिए ।
स्थानीय विष्णु अर्यालले हाइड्रोजन इन्धनबाट पकाएको खाना स्वादिलो हुनुका साथै छिटो पाक्ने अनुभव सुनाए ।