काठमाडौं । भारतका विभिन्न राज्यहरूमा भीषण मौसमका कारण जनजीवन प्रभावित बनेको छ । उत्तर प्रदेशमा बुधबार आएको शक्तिशाली हावाहुरी र आँधीका कारण कम्तीमा ९४ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
प्रयागराज, अयोध्यासहित ३० जिल्लामा आएको तीव्र आँधीका कारण सबैभन्दा बढी प्रयागराजमा १७ तथा भदोहीमा १६ जनाको मृत्यु भएको पुष्टि भएको छ । केही क्षेत्रमा हावाहुरीको गति प्रतिघण्टा ८० किलोमिटरसम्म पुगेको बताइएको छ ।
बरेलीमा एक युवक जस्तापातासहित हावाले उडाएको घटना सार्वजनिक भएको छ भने विभिन्न जिल्लामा रूख ढल्दा, घर भत्किँदा र चट्याङ लाग्दा ठूलो क्षति पुगेको छ । उत्तर प्रदेशको बांदा सहरमा तापक्रम ४५.४ डिग्री सेल्सियस मापन गरिएको छ । मौसम विभागले बिहीबार राज्यका ५१ जिल्लामा तीव्र हावाहुरी र वर्षाको चेतावनी जारी गरेको छ ।
उता, राजस्थानमा लगातार बढ्दो गर्मीका कारण जनजीवन कष्टकर बनेको छ । बुधबार लगातार चौथो दिन जैसलमेर भारतकै सबैभन्दा तातो सहर बनेको छ, जहाँ तापक्रम ४६.१ डिग्री सेल्सियस पुगेको छ । भारतीय मौसम विभागले बीकानेर, जोधपुर, जैसलमेर र बाडमेरमा अत्यधिक गर्मीको ‘रेड अलर्ट’ जारी गरेको छ भने १३ जिल्लामा हिटवेभ (लु) को चेतावनी दिइएको छ ।
मध्य प्रदेशका २५ भन्दा बढी जिल्लामा पनि हिटवेभको प्रभाव देखिएको छ । मौसम विभागका अनुसार यो अवस्था १८ मेसम्म जारी रहन सक्ने अनुमान गरिएको छ । बुधबार खजुराहोमा तापक्रम ४५.४ डिग्री सेल्सियस पुगेको थियो । इन्दौर, उज्जैन, धार र रतलाममा ‘ओरेन्ज अलर्ट’ जारी गरिएको छ । ती क्षेत्रमा तातो रातको समेत चेतावनी दिइएको छ ।
हरियाणामा पछिल्लो २४ घण्टामा तापक्रम १.२ डिग्री सेल्सियसले वृद्धि भएको छ । राज्यका पाँच सहरमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । नारनौलमा सबैभन्दा बढी ४२.५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । राज्यमा १७ मेदेखि हिटवेभको ‘येलो अलर्ट’ जारी गरिएको छ ।
यस्तै, बिहारका पूर्णिया, कटिहारसहित सात जिल्लामा भारी वर्षाको ‘ओरेन्ज अलर्ट’ जारी गरिएको छ भने उत्तराखण्डका पहाडी जिल्लाहरूमा वर्षाको ‘येलो अलर्ट’ जारी गरिएको भारतीय मौसम विभागले जनाएको छ ।