काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता FIFA World Cup 2026 सुरु हुन अब एक महिना मात्रै बाँकी रहेको छ । यस पटकको विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करणका रूपमा आयोजना हुँदैछ । पहिलो पटक तीन राष्ट्र संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिको ले संयुक्त रूपमा विश्वकप आयोजना गर्दैछन् । प्रतियोगिता जुन ११ देखि जुलाई १९ सम्म सञ्चालन हुनेछ ।
यस संस्करणमा अहिलेसम्मकै धेरै ४८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । यसअघि विश्वकपमा ३२ टोली सहभागी हुँदै आएका थिए । टोली संख्या बढेसँगै प्रतियोगिताको ढाँचा पनि परिवर्तन गरिएको छ । अब १२ समूहमा विभाजन गरिएका टोलीमध्ये प्रत्येक समूहका शीर्ष दुई टोली र उत्कृष्ट ८ तेस्रो स्थानका टोली नकआउट चरणमा प्रवेश गर्नेछन् ।
विश्वकपमा यसपटक कुल १०४ खेल हुनेछन्, जसमा समूह चरणमा मात्रै ७२ खेल समावेश छन् । साथै नकआउट चरणमा ‘राउण्ड अफ ३२’ पनि थपिएको छ । उद्घाटन खेल मेक्सिको सिटीस्थित ऐतिहासिक अज्टेका स्टेडियम मा हुनेछ भने फाइनल खेल जुलाई १९ मा न्यु जर्सीस्थित मेटलाइफ स्टेडियम मा आयोजना हुनेछ । प्रतियोगिताका खेलहरू अमेरिका, क्यानडा र मेक्सिकोका १६ विभिन्न रंगशालामा खेलाइनेछन् । अमेरिकामा ११, मेक्सिकोमा ३ र क्यानडामा २ रंगशाला चयन गरिएको छ ।
यस पटक विश्वकपमा केही नयाँ टोलीले पनि इतिहास रचेका छन् । जोर्डन, उज्बेकिस्तान, केप भर्डे र कुराकाओ पहिलो पटक विश्वकपमा छनोट भएका छन् । विश्वकपको पुरस्कार राशी पनि यस पटक उल्लेख्य रूपमा वृद्धि गरिएको छ । विजेता टोलीले ५ करोड अमेरिकी डलर प्राप्त गर्नेछ भने कुल पुरस्कार राशी ६५ करोड ५० लाख अमेरिकी डलर पुग्ने बताइएको छ ।
नेपालमा विश्वकपका अधिकांश खेल रातिको समयमा प्रसारण हुनेछन् । खेलहरू मध्यरातिदेखि बिहानसम्म विभिन्न समयमा सञ्चालन हुनेछन् । नेपालमा हिमालय स्पोर्ट्स टिभी र डीगो एपमार्फत खेलहरूको प्रत्यक्ष प्रसारण हुने जनाइएको छ ।
यसबीच इरान को सहभागितालाई लिएर पनि चर्चा भइरहेको छ । अमेरिका र इजरायलसँगको तनावपछि इरानले विश्वकप नखेल्ने चेतावनी दिएको भए पनि पछिल्लो समय विभिन्न शर्तसहित सहभागिताका लागि सकारात्मक देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।