काठमाडौं । देशभर पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा तल्लो वायुमण्डलमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण मंगलबार विभिन्न जिल्लामा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार केही स्थानमा बिहानैदेखि पानी परेको छ भने दिउँसो र अपराह्नतिर थप वर्षा हुने अनुमान गरिएको छ।
विभागले पोखरा, जिरी र ताप्लेजुङमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना ७० प्रतिशत रहेको जनाएको छ। यस्तै काठमाडौं, ओखलढुंगा, धनकुटा र जोमसोममा ६० प्रतिशतसम्म वर्षाको सम्भावना रहेको बताइएको छ।
यसैगरी डडेलधुरा, दिपायल, जुम्ला, घोराही, भैरहवा, सिमरा र धरानलगायत क्षेत्रमा पनि वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय रहेको छ। यसका साथै स्थानीय वायु र तल्लो वायुमण्डलमा विकसित न्यूनचापीय क्षेत्रले मौसममा बदली र वर्षाको अवस्था सिर्जना गरेको हो।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले पश्चिमी वायुको सक्रियता पुनः बढेकाले आगामी केही दिन वर्षा जारी रहने संकेत गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले जेठ महिनाको मध्यसम्म देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको उल्लेख गरेका छन्, यद्यपि सबै क्षेत्रमा दैनिक वर्षा नहुन सक्ने उनले बताएका छन्।
पर्यावरण एवं मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार सोमबार रातिदेखि सुदूरपश्चिम प्रदेश हुँदै प्रवेश गरेको वर्षा प्रणालीका कारण धेरै स्थानमा पानी परेको हो। उनका अनुसार मंगलबार दिउँसो र अपराह्न पुनः वर्षा हुने सम्भावना देखिएको छ।
विभागले नागरिकलाई मेघगर्जन, चट्याङ तथा हावाहुरीबाट सतर्क रहन आग्रह गरेको छ। साथै वर्षाका कारण पहाडी तथा हिमाली क्षेत्रमा सडक अवरुद्ध हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।