काठमाडौं । दक्षिण भारतीय अभिनेता थलापति विजय तमिलनाडुको मुख्यमन्त्री बनेपछि भारतभर राजनीतिक तथा सामाजिक बहस चुलिएको छ। अभिनेता हुँदै राजनीतिमा प्रवेश गरेका विजयले आइतबार मुख्यमन्त्री पदको शपथ ग्रहण गरेसँगै सामाजिक सञ्जालमा उनका समर्थकहरूको उत्साह व्यापक रूपमा देखिएको छ।
तमिलगा वेत्री कझगम (टिभिके) पार्टीका अध्यक्ष विजयले तमिलनाडु विधानसभा निर्वाचनमा उल्लेखनीय सफलता हासिल गरेपछि सरकार गठन गरेका हुन्। विश्लेषकहरूले विजयको लोकप्रियता, युवा समर्थकको बलियो साथ तथा फिल्म क्षेत्रबाट निर्माण भएको विशाल फ्यान आधारलाई उनको राजनीतिक सफलताको मुख्य कारण मानेका छन्।
शपथग्रहणपछि सामाजिक सञ्जालमा विजयका पुराना फिल्म संवाद, भिडियो क्लिप तथा फ्यान मोमेन्टहरू पुनः भाइरल बनेका छन्। समर्थकहरूले “थलापति अब सीएम” भन्दै नयाँ राजनीतिक युगको सुरुवात भएको प्रतिक्रिया दिइरहेका छन्। शपथपछि अभिनेता आर माधवन र पवन कल्याणलगायत विभिन्न कलाकार तथा नेताहरूले विजयलाई बधाई दिएका छन्।
मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै विजयले आफ्ना चुनावी प्रतिबद्धता कार्यान्वयन सुरु गरेका छन्। उनले घरेलु उपभोक्तालाई प्रत्येक महिना २०० युनिटसम्म निःशुल्क विद्युत् उपलब्ध गराउने निर्णयमा पहिलो हस्ताक्षर गरेका छन्। साथै महिलाको सुरक्षाका लागि विशेष सुरक्षा बल गठन गर्ने तथा प्रत्येक जिल्लामा एन्टी-ड्रग युनिट स्थापना गर्ने निर्णय पनि सार्वजनिक गरेका छन्।
विजयले अघिल्लो सरकारको कार्यकालमा तमिलनाडु ठूलो ऋणको भारमा परेको दाबी गर्दै राज्यको आर्थिक अवस्थाबारे ‘श्वेतपत्र’ सार्वजनिक गर्ने घोषणा गरेका छन्। सार्वजनिक पैसाको दुरुपयोग हुन नदिने तथा शिक्षा, सडक र खानेपानीजस्ता आधारभूत सेवामा प्राथमिकता दिने उनको भनाइ छ।
टिभिकेको चुनावी घोषणापत्रमा महिलालाई मासिक २ हजार ५०० रुपैयाँ आर्थिक सहायता, किसानलाई वार्षिक आय सहयोग, निःशुल्क ग्यास सिलिन्डर, युवाका लागि इन्टर्नशिप भत्ता तथा बेरोजगारलाई मासिक भत्ता दिने कार्यक्रम समावेश छन्। यद्यपि, केही अर्थविश्लेषकहरूले यस्ता महत्वाकांक्षी कल्याणकारी योजनाले राज्यको अर्थतन्त्रमा ठूलो भार पर्न सक्ने चेतावनी दिएका छन्।