काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा काठमाडौँ उपत्यकामा भएका सवारी दुर्घटनामा परी १७४ जनाले ज्यान गुमाएका छन्। मृत्यु हुनेमध्ये आधाभन्दा बढी युवा उमेर समूहका रहेको ट्राफिक प्रहरीले जनाएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार साउनदेखि चैत मसान्तसम्म उपत्यकामा चार हजार ६३१ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा परी १७४ जनाको मृत्यु भएको हो।
कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार मृत्यु हुनेमध्ये ९३ जना युवा उमेर समूहका छन्। तथ्यांकअनुसार १७ वर्षमुनिका ७ जना तथा १६ देखि ३५ वर्ष उमेर समूहका ८६ जनाले दुर्घटनामा ज्यान गुमाएका छन्। त्यस्तै, ३६ वर्षभन्दा माथिका ८१ जनाको मृत्यु भएको छ।
दुर्घटनामा मृत्यु हुनेमध्ये १३८ पुरुष र ३३ महिला रहेका छन्। साथै, एक बालक र दुई बालिकाको पनि ज्यान गएको ट्राफिक प्रहरीको तथ्यांकमा उल्लेख छ। यस अवधिमा दुर्घटनामा परी १८६ जना गम्भीर घाइते भएका छन् भने चार हजार ९२७ जना सामान्य घाइते भएका छन्।
ट्राफिक प्रहरीका अनुसार तीव्र गतिमा सवारी चलाउने, मादक पदार्थ तथा लागूपदार्थ सेवन गरेर गाडी चलाउने प्रवृत्ति दुर्घटनाको मुख्य कारण बनेको छ। साथै, सवारी चलाउने क्रममा मोबाइल फोनको प्रयोगले पनि दुर्घटना बढाएको प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरीले सडक सुरक्षासम्बन्धी जनचेतना अभिवृद्धि, नियम उल्लंघन गर्ने चालकमाथि निगरानी तथा कारबाहीलाई थप प्रभावकारी बनाउने तयारी गरिरहेको जनाएको छ।