काठमाडौं । इजरायलले लेबनानका विभिन्न क्षेत्रमा गरेको भीषण हवाई आक्रमणमा कम्तीमा ३९ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएका आक्रमणबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको हो।
इजरायली सेनाले विशेषगरी दक्षिणी लेबनान र राजधानी बेरुतका आवासीय क्षेत्रलाई लक्षित गर्दै आक्रमण तीव्र पारेको जनाएको छ। दक्षिणी लेबनानको साक्साकिये क्षेत्रमा मात्र एक बालिकासहित सात जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।
त्यस्तै, नबातिये क्षेत्रमा एक सिरियाली नागरिक र उनकी १२ वर्षीया छोरी सवार मोटरसाइकलमाथि इजरायली ड्रोनले लगातार तीन पटक आक्रमण गरेको जनाइएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पहिलो आक्रमणपछि ज्यान जोगाउन भाग्ने क्रममा दोस्रो प्रहारमा बुवाको मृत्यु भएको थियो भने तेस्रो प्रहार बालिकामाथि गरिएको थियो।
इजरायली रक्षा बल ९आईडीएफ० ले भने हिजबुल्लाहका लडाकुलाई लक्षित गरी आक्रमण गरिएको दाबी गरेको छ। सेनाले सर्वसाधारणको क्षति कम गर्न ‘प्रिसिजन’ हतियार प्रयोग गरिएको जनाएको छ। तर, मानवअधिकारवादी संस्थाहरूले इजरायलले गाजामा अपनाएको रणनीतिकै शैलीमा लेबनानी गाउँहरूमा आक्रमण गरिरहेको आरोप लगाएका छन्। उनीहरूले यस्ता गतिविधि ‘युद्ध अपराध’ हुन सक्ने चेतावनी दिएका छन्।
यता, हिजबुल्लाहले पनि प्रतिकारस्वरूप उत्तरी इजरायलमा ड्रोन आक्रमण गरेको जनाएको छ। उक्त आक्रमणमा तीन इजरायली सैनिक घाइते भएको बताइएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो एक सातामा मात्रै इजरायली आक्रमणबाट १२० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ। फेब्रुअरी २८ मा इरानमाथि भएको आक्रमण र इरानी सर्वोच्च नेताको मृत्युपछि मध्यपूर्व क्षेत्रमा तनाव थप चुलिएको छ।
गत अप्रिल १६ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा युद्धविराम सम्झौता भए पनि दुवै पक्षबीच गोलाबारी जारी रहँदा क्षेत्रीय अवस्था झन् जटिल बन्दै गएको छ।