काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा अबको दुई दिनभित्र सार्वजनिक हुने तयारी भएको छ। राष्ट्रिय परीक्षा बोर्डले वैशाख २९ गतेभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्यअनुसार अन्तिम चरणको काम भइरहेको जनाएको छ।
परीक्षा नियन्त्रक तुकराज अधिकारीका अनुसार अहिले उत्तरपुस्तिकाको पुनरावलोकन ९रिभ्यू० कार्य भइरहेको छ। “रूजु गर्ने काम सकिएको छ। उत्तरपुस्तिका नहराउन् भनेर रिभ्यू भइरहेको छ। त्यो सकिएपछि नतिजा सार्वजनिक प्रक्रियामा जान्छ,” उनले बताए। यसअघि एसइईको नतिजा जेठ अन्तिम वा असार पहिलो सातातिर सार्वजनिक हुने गरेकोमा यसपालि भने परीक्षा सकिएको एक महिनाभित्रै नतिजा सार्वजनिक गर्न लागिएको हो।
चैत १९ गतेदेखि सुरु भएको एसइई परीक्षा चैत २९ गते सम्पन्न भएको थियो। सरकारले यस वर्षदेखि नतिजा एक महिनाभित्र सार्वजनिक गर्ने निर्णय गरेपछि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकिएको तीन दिनभित्रै सबै परीक्षा केन्द्रलाई नतिजासम्बन्धी विवरण पठाउन निर्देशन दिएको थियो।
यसपालि उत्तरपुस्तिका परीक्षण पनि परीक्षा केन्द्रमै गरिएको थियो। यसका कारण उत्तरपुस्तिका अन्यत्र पठाउनुपर्ने झन्झट हटेको र समय बचत भएको बोर्डले जनाएको छ। बोर्डले वैशाख ५ गतेभित्र सबै उत्तरपुस्तिका, नतिजा र सम्बन्धित कागजात बुझाउन निर्देशन दिएको थियो।
देशभरका जिल्ला शिक्षा इकाईहरूले वैशाख ९ गतेभित्र मार्कस्लिप र उत्तरपुस्तिका बोर्डमा बुझाइसकेका थिए। त्यसपछि कम्प्युटर इन्ट्रीको काम पनि तीव्र गतिमा सम्पन्न गरिएको थियो। बोर्डका सूचना अधिकारी लक्ष्मी मरासिनीका अनुसार कर्मचारीहरूले बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म निरन्तर काम गरेका छन्। “समयमै नतिजा सार्वजनिक गर्न अतिरिक्त जनशक्ति समेत परिचालन गरिएको थियो,” उनले भनिन्।
सम्पूर्ण प्रक्रिया पूरा भएपछि राष्ट्रिय परीक्षा बोर्डको बैठक बसेर औपचारिक रूपमा नतिजा सार्वजनिक गरिनेछ।