काठमाडौं । गोङ्गबु बसपार्क क्षेत्रका विभिन्न होटलमा बस्दै आएका सुकुम्बासी बस्तीका नागरिकलाई नागार्जुनस्थित अपार्टमेन्टमा स्थानान्तरण गरिएपछि उनीहरूले आधारभूत सुविधा अभाव भएको भन्दै असन्तुष्टि जनाएका छन्।
सरकारले ४० परिवारका ९३ जनालाई अपार्टमेन्टमा राखेको भए पनि पूर्वतयारी बिना व्यवस्थापन गरिएको उनीहरूको गुनासो छ। पीडितहरूका अनुसार शुक्रबार साँझ करिब ७ बजे उनीहरूलाई अपार्टमेन्टमा ल्याइएको थियो, तर कसले र किन स्थानान्तरण गरेको भन्नेबारे स्पष्ट जानकारी दिइएको थिएन।
खानेपानीको उचित व्यवस्था नभएको कारण केही समय तनावपूर्ण अवस्था समेत सिर्जना भएको थियो। पछि दैनिक प्रयोगका लागि पानीको व्यवस्था गरिए पनि खानेपानी आपूर्ति व्यवस्थापनका लागि स्थानीय तह, प्रहरी र सम्बन्धित निकायबीच समन्वय भइरहेको जनाइएको छ।
मनोहरा बस्तीबाट विस्थापित विश्वनाथ दाहालले सरकारको प्रयास सकारात्मक भए पनि व्यवस्थापन पक्ष कमजोर रहेको टिप्पणी गरे। उनका अनुसार समन्वय गर्ने जिम्मेवार अधिकारी नहुँदा नागरिकहरू अन्योलमा परेका छन्। ‘हामीलाई यहाँ कति दिन राख्ने हो, खानेकुरा र अन्य सुविधा कसरी व्यवस्थापन हुन्छ भन्नेबारे कुनै स्पष्टता छैन,’ उनले भने।
अपार्टमेन्टमा बसोबास गरिरहेका धेरै परिवारमा दीर्घरोगी सदस्य रहेको बताउँदै उनीहरूले अस्पताल आवतजावतमा सहजीकरण गर्न माग गरेका छन्। दुवै मिर्गौला फेल भएकी मुना खनाललाई हप्तामा दुई पटक वीर अस्पतालमा डायलासिसका लागि जानुपर्ने भए पनि आर्थिक अभावका कारण यातायात व्यवस्थापन कठिन भएको उनले बताइन्।
हाल एम्बुलेन्स सेवा उपलब्ध गराइएको भए पनि आगामी दिनमा सेवा निरन्तर रहने वा नरहने विषयमा आफूहरू चिन्तित रहेको उनीहरूको भनाइ छ।
विस्थापित परिवारहरूले सरकारले व्यवस्थित पुनर्स्थापना, आफ्नै नाममा जमिनको व्यवस्था तथा उचित छानबिनसहित दीर्घकालीन समाधान गर्नुपर्ने माग गरेका छन्।