काठमाडौं । नेपाल पर्यटन बोर्डको सहकार्यमा नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघले धरानमा पहिलो अन्तर्राष्ट्रिय नेपाल प्याराग्लाइडिङ प्रिमियर लिग सुरु गरेको छ। मोरङको धरान उपमहानगरपालिका-१४ स्थित छोटी मोरङ क्षेत्रमा शुक्रबारदेखि सुरु भएको प्रतियोगिता वैशाख २८ गतेसम्म सञ्चालन हुनेछ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिकमत सिंह ऐर तथा धरान उपमहानगरपालिकाकी पूर्व उपमेयर मञ्जु भण्डारीले संयुक्त रूपमा प्रतियोगिताको उद्घाटन गरेका हुन्।
आयोजकका अनुसार प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका गरी ३२ जना खेलाडी सहभागी रहेका छन्। प्रतियोगिताका संयोजक भोपाल च्यमलुडले धरानलाई साहसिक खेल पर्यटनको केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिए।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा साहसिक पर्यटनको ठूलो सम्भावना रहेको उल्लेख गरे। उनले प्याराग्लाइडिङ र माउन्टेनियरिङजस्ता गतिविधिले पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताए। उनले धरान तथा आसपासका क्षेत्रलाई प्याराग्लाइडिङ र ह्याङग्लाइडिङको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने सरकारको योजना रहेको जानकारी दिए। आगामी आर्थिक वर्षदेखि पर्यटन वर्ष र भ्रमण वर्षलाई लक्षित गर्दै प्याराग्लाइडिङसहित १० भन्दा बढी अन्तर्राष्ट्रिय खेल प्रतियोगिता आयोजना गर्ने तयारी भइरहेको पनि उनले बताए।
नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख ऐरले साहसिक खेल गतिविधिले कोशी प्रदेशको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे। उनले प्याराग्लाइडिङमार्फत सगरमाथा, मकालु र ल्होत्सेजस्ता हिमालको दृश्यावलोकन गर्न सकिने भएकाले विदेशी पर्यटक आकर्षित हुने अपेक्षा व्यक्त गरे।
धरान उपमहानगरपालिकाकी पूर्व उपमेयर मञ्जु भण्डारीले छोटी मोरङ क्षेत्रमा प्याराग्लाइडिङका लागि उपयुक्त उडान तथा अवतरण बिन्दु पहिचान गरिएको जानकारी दिइन्। प्राविधिक अध्ययनपछि उक्त क्षेत्रलाई आधिकारिक उडान स्थलका रूपमा निर्धारण गरिएको उनले बताइन्।
प्रतियोगितामा अन्तर्राष्ट्रिय खुला, पुरुष तथा महिला र राष्ट्रियतर्फ पुरुष तथा महिला गरी पाँच विधामा प्रतिस्पर्धा भइरहेको आयोजकले जनाएको छ। प्रतियोगितामा १८औँ एसियाली खेलकुदमा पदक जितेका खेलाडीहरूको समेत सहभागिता रहेको छ।