काठमाडौं । निर्देशक साहारा शर्माको डेब्यु निर्देशनमा निर्माण भएको चलचित्र ‘एक मुठ्ठी बादल’को नयाँ गीत ‘पल्लो घर’ सार्वजनिक गरिएको छ। शुक्रबार सार्वजनिक गरिएको गीतमा श्रेया राईको शब्द, संगीत तथा स्वर रहेको छ।
सार्वजनिक गीतको भिडियोमा चलचित्रकी मुख्य अभिनेत्री आँचल शर्मालाई केन्द्रमा राखिएको छ। विवाहको तयारी भइरहेका बेला एक युवतीको मनमा उब्जिने पुराना सम्झना, भावनात्मक उतारचढाव तथा बाल्यकालका स्मृतिलाई गीतमार्फत चित्रण गरिएको देखिन्छ। विशेषगरी विवाहअघि आफ्नै घर र परिवेशसँग जोडिएका भावनात्मक क्षणलाई गीतका शब्द र दृश्यले जीवन्त बनाएको छ।
चलचित्रमा आँचल शर्मा, निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईं, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट र अविरलप्रताप अधिकारीलगायत कलाकारहरूको अभिनय रहेको छ। चलचित्रका निर्माता अभिमन्यु दीक्षित हुन् भने निकुन श्रेष्ठ कार्यकारी निर्माताका रूपमा रहेका छन्।
निर्माण टोलीमा जर्मन निर्माता सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेलको पनि सहभागिता रहेको छ। चलचित्रमा लिन्ह डान गुयेन फानको छायांकन, यशस्वी सभरवालको प्रोडक्सन डिजाइन, गौरव मल्लिकको सम्पादन तथा अग्रणी ठकुरी झाको कला निर्देशन रहेको छ।
त्यस्तै, जानकी कडायतले भेषभूषा डिजाइन तथा कीर्ति जोशीले मेकअपको जिम्मेवारी सम्हालेका छन्। चलचित्रको प्रमुख सहायक निर्देशकका रूपमा मर्णा जेम्सले काम गरेकी छन् भने शर्मिला आले र मीरा खड्काले सहायक निर्देशकको भूमिका निर्वाह गरेका छन्।
‘एक मुठ्ठी बादल’ गौंथली इन्टरटेनमेन्ट र मन प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको हो।