काठमाडौं । सरकारले अध्यादेशमार्फत पदमुक्त गरिएका आठ विश्वविद्यालयका उपकुलपति नियुक्तिका लागि आवेदन आह्वान गर्दै छनोट प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। तर स्वास्थ्य क्षेत्रअन्तर्गतका विश्वविद्यालय तथा प्रतिष्ठानमा भने नेतृत्व नियुक्तिको प्रक्रिया अझै सुरु हुन नसक्दा अन्योल कायम रहेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत गठित “विभिन्न विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न बनेको छनोट तथा सिफारिस समिति” ले शुक्रबार सूचना जारी गर्दै इच्छुक तथा योग्य व्यक्तिबाट दरखास्त माग गरेको हो।
सूचनाअनुसार त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालय का रिक्त उपकुलपति पदका लागि आवेदन खुला गरिएको छ।
समितिले २०८३ वैशाख २४ गते स्वीकृत “विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३” अनुसार आवेदन प्रक्रिया अघि बढाइएको जनाएको छ। सूचना प्रकाशित भएको मितिले १० दिनभित्र मन्त्रालयको वेबसाइटमार्फत आवेदन दिन सकिने व्यवस्था गरिएको छ। मन्त्रालयले कार्यविधिसमेत सार्वजनिक गरिसकेको जनाएको छ।
सरकारले केही समयअघि अध्यादेशमार्फत विभिन्न विश्वविद्यालय तथा प्रतिष्ठानका पदाधिकारी हटाएको थियो। त्यसपछि नयाँ नेतृत्व चयन प्रक्रिया छिट्टै अघि बढ्ने अपेक्षा गरिएको थियो। शिक्षा क्षेत्रका विश्वविद्यालयमा प्रक्रिया सुरु भए पनि स्वास्थ्य क्षेत्रका संस्थामा भने अझै कुनै ठोस प्रगति देखिएको छैन।
विशेषगरी शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सहित विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति तथा प्रमुख पद रिक्त रहे पनि सरकारले छनोट प्रक्रिया सुरु नगरेको स्रोतहरूले बताएका छन्।
स्वास्थ्य क्षेत्रका सरोकारवालाहरूले विश्वविद्यालय तथा प्रतिष्ठान लामो समय नेतृत्वविहीन हुँदा शैक्षिक, प्रशासनिक र नीतिगत निर्णय प्रभावित हुने भन्दै चाँडो नियुक्ति प्रक्रिया अघि बढाउन सरकारसँग माग गरेका छन्।