काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल ‘ए’, स्कटल्यान्ड र अमेरिकासम्मिलित त्रिदेशीय एकदिवसीय अभ्यास श्रृंखलाको नयाँ तालिका सार्वजनिक गरेको छ। परिमार्जित तालिकाअनुसार अब श्रृंखला बिहीबारदेखि सुरु हुने भएको छ।
यसअघि आजदेखि सुरु हुने तय गरिएको प्रतियोगिता तालिका संशोधन गर्दै एक दिन पछि सारिएको हो। क्यानका अनुसार श्रृंखला मे ११ सम्म सञ्चालन हुनेछ। श्रृंखलामा नेपाल ‘ए’ ले स्कटल्यान्ड र अमेरिकासँग समान दुई-दुई खेल खेल्नेछ। तय तालिकाअनुसार नेपाल ‘ए’ ले मे ७ र ९ मा स्कटल्यान्डसँग तथा मे ८ र ११ मा अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ।
आगामी क्रिकेट विश्वकप लिग-२ को तयारीस्वरूप आयोजना गरिएको यस अभ्यास श्रृंखलालाई महत्वपूर्ण मानिएको छ। अमेरिका र स्कटल्यान्डले मे १२ देखि नेपालसँग लिग-२ अन्तर्गत त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखला खेल्ने कार्यक्रम छ।
श्रृंखलाका लागि मुख्य प्रशिक्षक राजु बस्न्यातले अनिलकुमार साहको कप्तानीमा १७ सदस्यीय प्रारम्भिक टोली घोषणा गरिसकेका छन्। टोलीमा तृतराज दास, देव खनाल, इशान पाण्डे, सन्दीप जोरा, कुशल मल्ल, सन्तोष यादव, नारायण जोशी, विपिन खत्री, हेमन्त धामी, आकाश चन्द, युवराज खत्री, राशिद खान, दीपक डुम्रे, पवन सराफ, मयन यादव, शेर मल्ल र शाहब आलम रहेका छन्।
यो अभ्यास श्रृंखलाले आगामी अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि खेलाडीहरूको तयारी र संयोजन परीक्षण गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।