काठमाडौं । स्पेनिस शीर्ष डिभिजन ला लिगामा बार्सिलोना उपाधिनजिक पुगेको छ। शनिबार ओसासुनाविरुद्ध २-१ को कठिन जित निकाल्दै बार्सिलोनाले उपाधि दौडमा आफ्नो पकड अझ बलियो बनाएको हो।
यो जितसँगै बार्सिलोनाले ३४ खेलबाट ८८ अंक जोडेको छ। उत्कृष्ट लयमा रहेको टोलीले यस सिजन २९ खेलमा जित, एक खेलमा बराबरी र चार खेलमा हार बेहोरेको छ। अब लिग उपाधि सुनिश्चित गर्न बार्सिलोनालाई बाँकी खेलमध्ये केवल एक जित पर्याप्त हुनेछ।
उता, चिरप्रतिद्वन्द्वी रियल मड्रिड भने उपाधि दौडमा पछि परेको छ। रियलले ३३ खेलबाट ७४ अंक मात्र जोड्न सकेको छ, जसले बार्सिलोनाभन्दा १४ अंकले पछि पारेको छ। रियलले हालसम्म २३ जित, पाँच बराबरी र पाँच हार बेहोरेको छ।
ओसासुनाको घरेलु मैदान स्टाडियो एल सदारमा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा भने बार्सिलोनाले आफ्नो आक्रमणलाई तीव्र बनायो। खेलको ८१औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसको पाँच मिनेटपछि, ८६औँ मिनेटमा फेरान टोरेसले अर्को गोल थप्दै बार्सिलोनाको अग्रता २-० मा पुर्याए। खेल लगभग बार्सिलोनाको नियन्त्रणमा पुगेको अवस्थामा ओसासुनाले अन्तिम समयमा संघर्ष गर्ने प्रयास गर्यो।
८८औँ मिनेटमा राउल गार्सियाले गोल गर्दै ओसासुनालाई खेलमा फर्काउने संकेत दिए पनि समय अभावका कारण बराबरी गर्न सफल भएनन्। यस हारसँगै ओसासुना ३४ खेलबाट ४२ अंकका साथ तालिकाको १०औँ स्थानमा सीमित भएको छ।
अब बाँकी खेलहरूमा बार्सिलोनाले आफ्नो प्रदर्शन कायम राख्न सके उपाधि जित्ने लगभग निश्चित देखिएको छ। टोलीका खेलाडीहरू उच्च आत्मविश्वासमा देखिएका छन् भने समर्थकहरू पनि उपाधि उत्सवको प्रतीक्षामा छन्।