काठमाडौं । प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म लालीबजार विरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरिएको छ। बादी समुदायको तर्फबाट रोशनी नेपालीले सोमबार रिट दायर गर्दै फिल्मको प्रदर्शन रोक्न माग गरेकी हुन्। अदालतले उक्त मुद्दाको पेशी मंगलबारका लागि तोकेको छ।
रिट दायर गर्नुअघि आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा रोशनीले फिल्मको नामदेखि प्रस्तुतिसम्ममा गम्भीर आपत्ति रहेको बताएकी थिइन्। उनका अनुसार फिल्मले बादी समुदायको पीडा र संवेदनशील विषयलाई गलत ढंगले चित्रण गरेको छ।
उनले फिल्मले समुदायको नैतिकतामाथि आघात पुर्याउने दाबी गर्दै भनिन् कि लामो समयदेखि पहिचान र अधिकारका लागि संघर्षरत समुदायलाई गलत रूपमा देखाइएको छ। सेन्सरमा फिल्म हेरिसकेकी उनले ‘लालीबजार’ले समुदायप्रति नकारात्मक धारणा फैलाउने खतरा रहेको उल्लेख गरेकी छन्।
यता, फिल्मविरुद्ध रिट दायर भएसँगै निर्माता कम्पनी षट्कोण आर्ट्सले काठमाडौंमा पत्रकार सम्मेलन गरिरहेको छ। फिल्मका कार्यकारी निर्माता प्रदीप भट्टराईका अनुसार फिल्मको मुख्य कथावस्तु आमा-छोरीको सम्बन्धमा केन्द्रित रहेको छ र बादी समुदायको कथा केवल परिवेशको रूपमा प्रयोग गरिएको दाबी गरिएको छ।
आगामी शुक्रबार(१८ वैशाख)बाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, विशाल देवकोटा, प्रशंसा सुवेदी, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल र रमेश बादीलगायत कलाकारहरूको अभिनय रहेको छ। फिल्मको निर्देशन यम थापाले गरेका हुन्, जसले बर्दियास्थित बादी समुदायको पृष्ठभूमिमा कथा प्रस्तुत गरेका छन्।