काठमाडौं । गोरखाको हिमाली भेग छेकम्पारका बासिन्दा यार्सागुम्बा संकलनका लागि लेकतर्फ उक्लिन थालेका छन्। चुमनुब्री गाउँपालिका-७ अन्तर्गत पर्ने यस क्षेत्रका स्थानीय एक साताअघिदेखि नै उच्च हिमाली भूभागतर्फ जान थालेका हुन्।
स्थानीय साङ्पा लामाका अनुसार यार्सागुम्बा संकलनको ‘सिजन’ सुरु भएसँगै गाउँलेहरू लेकतिर लागेका छन्। “यो हाम्रो मुख्य आम्दानीको स्रोत हो, त्यसैले हिउँ पूर्ण रूपमा नपग्लिँदै पनि धेरैजना लेकतिर गइसकेका छन्,” उनले बताए।
छेकम्पारका बासिन्दा तिब्बती सीमाना आसपासका छेके र बाजुलगायतका लेकमा पुगेर यार्सागुम्बा संकलन गर्ने गर्छन्। यस क्रममा उनीहरू याक, चौँरी र घोडाको सहायताले खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्दै लावालस्करसहित उकालो लाग्ने परम्परा छ।
लेकतर्फ जाँदै गरेका फुर्बु लामाले एक महिनासम्म पाल टाँगेर लेकमै बस्ने जानकारी दिए। “घरमा बुढापाका मात्र बस्छन्, अरू सबैजना लेकतिरै जान्छौँ। कोही पुगिसके, कोही बाटोमै छन्,” उनले भने। यार्सागुम्बा बिक्रीबाट वर्षभरको खर्च धान्नुपर्ने भएकाले स्थानीयले अन्य काम छोडेर यसमा केन्द्रित हुने गरेका छन्। छेकम्पारको लेक क्षेत्रमा बाहिरी व्यक्तिलाई प्रवेश निषेध गरिएको छ भने स्थानीयले समितिलाई प्रतिव्यक्ति ५०० रुपैयाँ शुल्क तिरेपछि मात्रै संकलनका लागि जान पाउने व्यवस्था छ।
विगतमा अभिभावकसँगै बालबालिका पनि लेकतिर जाने चलन थियो, जसले उनीहरूको पढाइमा असर पार्ने गरेको थियो। तर यस वर्ष भने बुद्ध आधारभूत विद्यालयले आवासीय सुविधासहित पठनपाठनको व्यवस्था मिलाएपछि बालबालिकाको शिक्षामा सहजता आएको स्थानीयले बताएका छन्।
विद्यालयका मुख्य लामा तथा पूर्व वडाध्यक्ष पासाङ फुञ्जोका अनुसार करुणा स्वास्थ्य संस्था र ‘जोसेफ फर डिग्निटी’ नामक विदेशी संस्थाको सहयोगमा चुमगुम्बामा आवासीय विद्यालय सञ्चालनमा ल्याइएको हो। “अब अभिभावक लेकतिर गए पनि बालबालिका छात्रवासमै बसेर नियमित पढ्न पाउने छन्,” उनले भने, “यसले विगतजस्तो विद्यालय बन्द हुने समस्या हटाउने विश्वास गरेका छौँ।”