काठमाडौं । अमेरिकाको वासिङटन डीसीस्थित वासिङटन हिल्टन होटलमा शनिबार राति आयोजित वार्षिक ‘ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनर’का क्रममा भएको आक्रमणपछि ३१ वर्षीय कोल थोमस एलेन पक्राउ परेका छन्।
क्यालिफोर्नियाको टोरेन्स निवासी एलेन पेशाले शिक्षक रहेको प्रारम्भिक जानकारी सार्वजनिक भएको छ। प्रहरीका अनुसार एलेन सोही होटलमा पाहुनाका रूपमा बसेका थिए। उनले सुरक्षा चेकपोइन्ट नजिकै रहेको ‘म्याग्नेटोमिटर’ क्षेत्रमा सुरक्षाकर्मीमाथि गोली प्रहार गरेका थिए। घटनास्थलबाट उनलाई नियन्त्रणमा लिइएको हो।
वासिङटन महानगरीय प्रहरीका अन्तरिम प्रमुख जेफ्री क्यारोलले पत्रकार सम्मेलनमार्फत दिएको जानकारीअनुसार संदिग्धसँग सटगन, ह्यान्डगन तथा कैयौँ धारिलो हतियार बरामद गरिएको छ। प्रहरीले उनको होटलको कोठा सिल गरी सम्भावित प्रमाण, हतियार तथा योजनासम्बन्धी कागजातको खोजी गरिरहेको छ।
घटनालाई हाल एकल आक्रमणका रूपमा अनुसन्धान गरिँदै छ। तर संदिग्धको उद्देश्य तथा सम्भावित ठूलो षड्यन्त्रसँग सम्बन्ध रहेको-नरहेको विषयमा अनुसन्धान जारी रहेको अधिकारीहरूले बताएका छन्।
आक्रमणका क्रममा युनाइटेड स्टेट्स सेक्रेट सर्भिसका एक एजेन्ट घाइते भएका छन्। उनलाई नजिकबाट गोली लागे पनि बुलेट-प्रुफ ज्याकेटका कारण ज्यान जोगिएको बताइएको छ। उनी हाल उपचाररत छन् र खतरामुक्त रहेको जनाइएको छ। प्रत्यक्षदर्शीहरूका अनुसार अचानक गोली चलेपछि कार्यक्रममा सहभागी अतिथिहरू त्रसित बनेका थिए र धेरैजसो टेबलमुनि लुकेका थिए।
घटनापछि संदिग्ध एलेनलाई स्वास्थ्य परीक्षणका लागि अस्पतालमा राखिएको छ। अमेरिकी महान्यायाधिवक्ता ज्यानिने पिरोका अनुसार उनीविरुद्ध हिंसात्मक अपराधका क्रममा आग्नेयास्त्र प्रयोग तथा संघीय अधिकारीमाथि खतरनाक हतियारसहित आक्रमण गरेको आरोपमा मुद्दा दायर गर्ने तयारी भइरहेको छ।
यस घटनापछि राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा निकायको प्रशंसा गर्दै आक्रमणकारीको मानसिक अवस्था असामान्य रहेको बताएका छन्। उनले सेक्रेट सर्भिसको तीव्र र साहसी प्रतिक्रिया सराहनीय भएको उल्लेख गरेका छन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।