काठमाडौं । नयाँ नेपाली फिल्म 'रोल नं १’को शीर्ष गीत सार्वजनिक भएको छ, जसले नेपालको शिक्षा प्रणाली र सामाजिक सोचमाथि तीखो व्यंग्य प्रस्तुत गरेको छ। चर्चित फिल्म पूर्णबहादुरको सारङ्गीका निर्माता विनोद पौडेलले निर्माण गरेको यस फिल्मले सुरुदेखि नै सामाजिक सन्देश बोकेको देखिन्छ।
गीतमा प्रशान्त शिवाकोटीको शब्द, संगीत र स्वर रहेको छ। उनले यसअघि ‘न्याउली वनैमा’ र ‘काँधेकुरी’ जस्ता लोकप्रिय गीतमार्फत दर्शकको मन जितिसकेका छन्। नयाँ गीतमा भने उनले पढाइको नाममा हुने दबाब, र्याङ्किङको अन्धो दौड, र किताबी ज्ञानमै सीमित शिक्षा प्रणालीलाई व्यंग्यात्मक ढंगले प्रस्तुत गरेका छन्।
गीतको भिडियोमा एक बालकको कथामार्फत अभिभावकीय अपेक्षा र सामाजिक दबाबलाई देखाइएको छ। “पहिलो हुनैपर्छ” भन्ने मानसिकताले बालबालिकाका इच्छा र रहर कसरी दबिन्छन् भन्ने कुरा प्रभावकारी रूपमा चित्रण गरिएको छ। भिडियोले विशेषगरी आर्थिक रूपमा कमजोर परिवारको यथार्थ झल्काउँदै शिक्षा प्रणालीभित्रको असमानता पनि उजागर गरेको छ।
फिल्मका निर्देशक जोन योञ्जन हुन्। फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारीलगायत कलाकारहरूको अभिनय रहेको छ। निर्माणमा जान्वी पौडेल सह(निर्माताका रूपमा संलग्न छन् भने कथा तथा पटकथा महेश दवाडीले तयार पारेका हुन्।
सार्वजनिक गीतले शिक्षा प्रणालीमा सुधारको आवश्यकता औंल्याउँदै “किताबी किरो भएर मात्र सफल भइँदैन” भन्ने सन्देश दिन खोजेको देखिन्छ। फिल्मले समग्र रूपमा समाजमा जरा गाडेको प्रतिस्पर्धात्मक सोच र त्यसले बालबालिकामा पार्ने प्रभावबारे बहस सिर्जना गर्ने अपेक्षा गरिएको छ।