काठमाडौं । तारकेश्वर गाउँपालिकाले जनप्रतिनिधि तथा कर्मचारीका सन्तानलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको छ। गाउँ कार्यपालिकाको बैठकबाट सर्वसम्मत पारित उक्त निर्णय चालु शैक्षिक सत्रदेखि नै लागू गरिएको हो।
गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले शिक्षामा सुधार ल्याउने उद्देश्यले प्रस्ताव पेश गरेका थिए। सो प्रस्ताव पारित भएसँगै गाउँपालिकाभित्रका जनप्रतिनिधि, कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी तथा सरकारी सेवा-सुविधा उपभोग गर्ने व्यक्तिका सन्तानले सामुदायिक विद्यालयमै अध्ययन गर्नुपर्ने भएको छ।
अध्यक्ष अधिकारीका अनुसार यो निर्णय शिक्षा सुधार अभियानअन्तर्गत रणनीतिक रूपमा अघि सारिएको हो। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नुका साथै अभिभावकको विश्वास र आकर्षण बढाउने लक्ष्य राखिएको उनले बताए।
निर्णय कार्यान्वयनका लागि सम्बन्धित शाखालाई अनुगमन र मूल्याङ्कनको जिम्मेवारी दिइएको छ। गाउँपालिकाले शिक्षा क्षेत्रमा दीर्घकालीन सुधार ल्याउने लक्ष्यसहित यस्तो कदम चालेको जनाएको छ।
यसैबीच, शिवपुरी गाउँपालिकाले भने चालु शैक्षिक सत्र २०८३ का लागि वैशाख १५ गतेदेखि नियमित पठनपाठन सुरु गर्न निर्देशन दिएको छ। गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद थपलियाद्वारा जारी सूचनाअनुसार संघीय सरकारको निर्णयका कारण शैक्षिक गतिविधिमा असर पर्ने देखिएकाले यस्तो निर्णय गरिएको हो।
गाउँ शिक्षा समितिको बैठकले भर्ना अभियान तत्काल सुरु गर्ने र आइतबारसमेत विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ। यसले विद्यार्थी, शिक्षक तथा अभिभावकबीच देखिएको अन्योलता हटाउने अपेक्षा गरिएको छ।