काठमाडौं । सरकारले थापाथलीस्थित सुकुम्बासी बस्ती शनिबार बिहान ‘चुपचाप’ रूपमा खाली गराएको छ। यसअघि पटक-पटकको प्रयासमा झडप हुँदै आएको भए पनि यसपटक ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र काठमाडौं महानगर प्रहरी बल परिचालन गरेर बस्ती हटाइएको हो।
सरकारले दुई दिनअघि मात्र सूचना जारी गर्दै उपत्यकाका सुकुम्बासी बस्ती खाली गर्न निर्देशन दिएको थियो। सोही सूचनापछि केही स्थानीयले आफ्ना सामान सुरक्षित स्थानतर्फ सारिसकेका थिए। शनिबार बिहान भने बाँकी रहेका बासिन्दाले पनि बिना प्रतिवाद बस्ती छाडेका थिए।
महानगर प्रहरी बलले पाँचवटा डोजर प्रयोग गरेर बस्तीका अस्थायी टहरा भत्काएको जनाएको छ। बिहान ७ बजेबाट सुरु गरिएको अभियानमा सुकुम्बासीलाई सामान सार्न थप एक घण्टा समय दिइएको थियो। त्यसपछि साढे ८ बजेदेखि डोजर परिचालन गरिएको हो।
यसअघि २०७९ मंसिरमा पनि बस्ती हटाउने प्रयास गर्दा स्थानीय र सुरक्षाकर्मीबीच झडप भएको थियो। तर यसपटक स्थानीयले प्रतिरोध नगरी बस्ती खाली गरेका छन्। यद्यपि उनीहरूले पर्याप्त समय नदिइएको र वैकल्पिक व्यवस्था स्पष्ट नभएको भन्दै गुनासो गरेका छन्।
२० वर्षदेखि थापाथलीमा बस्दै आएकी एक स्थानीय बासिन्दाले आफूहरूलाई कहाँ जाने भन्ने अन्योल रहेको बताइन्। “हामीलाई पर्याप्त समय दिइएन, सामानसमेत सार्न गाह्रो भयो,” उनले भनिन्।
सरकारले भने सुकुम्बासीहरूको व्यवस्थापनका लागि अस्थायी आवास र राहतको व्यवस्था गरिने जनाएको छ। प्रभावितहरूलाई नागार्जुनस्थित आवास युनिट, कीर्तिपुर र भक्तपुरका विभिन्न स्थानमा स्थानान्तरण गर्ने योजना रहेको छ। साथै शनिबार र आइतबारका लागि खाना व्यवस्थापन पनि गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
सरकारले थापाथलीसँगै अन्य क्षेत्रका सुकुम्बासी बस्ती पनि चरणबद्ध रूपमा हटाउने तयारी गरेको छ। आइतबार मनोहरा, सिनामंगललगायतका क्षेत्रमा पनि यस्तै अभियान सञ्चालन गरिने जनाइएको छ।