काठमाडौं । परराष्ट्र मन्त्रालयले दक्षिणपूर्वी एसियाली देशहरूमा सञ्चालन भइरहेका अनलाइन डिजिटल स्क्यामिङ केन्द्रहरूमा ठगीमा परेका नेपाली नागरिकहरूको उद्धार कार्यलाई तीव्रता दिएको जनाएको छ। हालसम्म विभिन्न देशबाट कुल ६१२ जना नेपालीको उद्धार गरी स्वदेश फर्काइएको मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार उद्धार गरिएकामध्ये सबैभन्दा बढी कम्बोडियाबाट ४८७ जना रहेका छन्। त्यसैगरी म्यानमारबाट १११ जना, लाओसबाट ८ जना र थाइल्याण्डबाट ६ जना नेपालीलाई उद्धार गरिएको हो।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता क्षेत्रीले दक्षिणपूर्वी एसियामा फैलिएका डिजिटल ठगी सञ्जालमा फसेका नेपालीहरूलाई प्राथमिकताका साथ सुरक्षित रूपमा फर्काउने काम भइरहेको बताए। उनले हाल थप ५३ जनाको ट्राभल डकुमेन्ट तयार भइसकेको र उनीहरूलाई चाँडै नेपाल ल्याइने तयारी भइरहेको जानकारी दिए।
मन्त्रालयका अनुसार सन् २०२१ यता विभिन्न उद्देश्यले कम्बोडिया जाने नेपालीको संख्या करिब २१ हजार पुगेको छ। तीमध्ये उल्लेख्य संख्या शंकास्पद स्क्यामिङ गतिविधिमा संलग्न वा त्यसमा फस्ने जोखिममा परेको हुनसक्ने अनुमान गरिएको छ।
यसैबीच, कम्बोडिया सरकारले हालै ९ जना नेपालीलाई विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार तीमध्ये ५ जनालाई संगठित ठगीसम्बन्धी मुद्दामा ‘सिम रिप प्रोभेन्सियल कोर्ट’मा पेस गरिने तयारी छ भने बाँकी ४ जनालाई अनुसन्धानका लागि हिरासतमा राखिएको छ।
सरकारले वैदेशिक रोजगारी वा अन्य उद्देश्यले विदेश जाने नागरिकलाई सचेत रहन, अपरिचित प्रस्तावप्रति सतर्क हुन तथा आधिकारिक माध्यममार्फत मात्र यात्रा गर्न आग्रह गरेको छ। साथै, यस्ता ठगी सञ्जाल नियन्त्रणका लागि सम्बन्धित देशहरूसँग समन्वय पनि बढाइएको मन्त्रालयले जनाएको छ।