काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय फिफा र एसियाली फुटबल महासंघले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि गरिएको निलम्बन फिर्ता लिन राष्ट्रिय खेलकुद परिषदलाई अल्टिमेटम दिएका छन्। फिफाले बुधबार एन्फालाई पत्राचार गर्दै वैशाख २१ भित्र निलम्बन फिर्ता लिन आग्रह गरेको हो। सो पत्रमा उक्त जानकारी खेलकुद परिषदलाई पनि गराउन भनिएको छ।
यसअघि खेलकुद परिषदले आफ्नो स्वीकृतिविना तथा विधान संशोधन नगरी केन्द्रीय कार्यसमितिको निर्वाचन गर्न लागिएको भन्दै एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको थियो। त्यसपछि एन्फाको निर्वाचन स्थगित हुनुका साथै फुटबल गतिविधिहरू प्रभावित भएका थिए।
विवाद चुलिँदै गएपछि एन्फा, खेलकुद परिषद, एएफसी र फिफाबीच अप्रिल १३ मा संयुक्त अनलाइन बैठकसमेत बसेको थियो। फिफाले उक्त बैठकलाई ‘खुला र अर्थपूर्ण’ भन्दै सराहना गरेको छ। तर, खेलकुद परिषदको निर्णयप्रति भने फिफाले असन्तुष्टि जनाउँदै यसलाई ‘तेस्रो पक्षको हस्तक्षेप’ का रूपमा व्याख्या गरेको छ। फिफाका अनुसार, एन्फाको निर्वाचन प्रक्रिया रोक्नु, विधान संशोधनका लागि दबाब दिनु तथा जिल्ला संघहरूलाई निर्देशन दिनु संस्थाको स्वायत्ततामाथि हस्तक्षेप हो।
फिफाले एन्फा सदस्य संघका रूपमा स्वतन्त्र रूपमा सञ्चालन हुनुपर्ने उल्लेख गर्दै परिषदलाई आफ्नो निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ। ‘समस्याको समाधान निस्कनेमा हामी विश्वस्त छौं। खेलकुद परिषदले आफ्नो अडान पुनर्विचार गरी ४ मे २०२६ भित्र निर्णय फिर्ता लिने अपेक्षा गरेका छौं,’ फिफाको पत्रमा उल्लेख छ।
फिफाको चेतावनीलाई गम्भीर रूपमा नलिए नेपाली फुटबलमाथि थप कारबाही हुन सक्ने संकेत गरिएको छ। त्यसैले सरोकारवालाबीच सहमति र संवादमार्फत समाधान खोज्न दबाब बढेको छ।