काठमाडौं । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराका विभिन्न क्षेत्रमा ‘स्वीप अपरेशन’ सञ्चालन गर्दै एकै रातमा १२२ जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार रातको समयमा सार्वजनिक शान्ति भंग गर्ने, होहल्ला गर्ने तथा अवैध गतिविधिमा संलग्न व्यक्तिलाई लक्षित गर्दै अपरेशन सञ्चालन गरिएको हो। कार्यालयका प्रहरी निरीक्षक तथा निमित्त सूचना अधिकारी गणेश पाण्डेका अनुसार पक्राउ परेकामध्ये ८२ जनाले लागुऔषध सेवन गरेको पाइएको छ भने केहीको साथबाट गाँजासमेत बरामद भएको छ।
प्रहरीले पोखराका बैदाम, रामबजार, शिशुवा, बगर र जिल्ला प्रहरी कार्यालय आसपासका क्षेत्रमा एकैसाथ अपरेशन चलाएको जनाएको छ। क्षेत्रगत रूपमा बैदामबाट ३९ जना, रामबजारबाट ४० जना, शिशुवाबाट २० जना, बगरबाट १२ जना र कार्यालय आसपासबाट ११ जना पक्राउ परेका छन्।
अपरेशनमा जिल्ला प्रहरी कार्यालय तथा मातहतका विभिन्न युनिटबाट खटिएको संयुक्त टोली सहभागी रहेको थियो। पक्राउ परेकामध्ये सबै पुरुष रहेका छन् र अधिकांश युवा उमेर समूहका रहेको प्रहरीले जनाएको छ। यसअघि पनि पोखराको लेकसाइड क्षेत्रमा पर्यटकलाई दुःख दिने तथा ठगीमा संलग्न व्यक्तिमाथि प्रहरीले कारबाही अगाडि बढाएको थियो।
प्रहरीले सार्वजनिक सुरक्षा कायम राख्न यस्ता अपरेशन आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने जनाएको छ।