काठमाडौं । अन्तरजातीय विवाह गरेको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा मृत्यु भएपछि घटना विवादित बनेको छ। सुनकोसी गाउँपालिका-३ का विकको मृत्युले स्थानीय स्तरदेखि राष्ट्रिय तहसम्म चासो र आक्रोश उत्पन्न गरेको छ।
विकले केही महिनाअघि खोटाङकी १८ वर्षीया मगर थरकी युवतीसँग प्रेम विवाह गरेका थिए र दुवै काठमाडौंमा बस्दै आएका थिए। तर युवतीका परिवारले बालविवाह र जबरजस्ती करणीको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएपछि उनलाई वैशाख ३ गते पक्राउ गरिएको थियो। पक्राउपछि उनलाई प्रहरी वृत्त सातदोबाटोबाट इलाका प्रहरी कार्यालय खुर्कोट, सिन्धुली पठाइएको थियो।
प्रहरीका अनुसार अनुसन्धानका क्रममा वैशाख ७ गते हिरासत कक्षभित्रै शौचालयमा सर्टको पासो लगाएर आत्महत्या गरेका हुन्। तर मृतकका परिवारले उक्त दाबी अस्वीकार गर्दै घटनालाई शंकास्पद बताएका छन्। उनीहरूका अनुसार विकमाथि प्रहरी हिरासतमा मानसिक तथा शारीरिक यातना दिइएको थियो र जबरजस्ती बयान दिन दबाब दिइएको थियो।
मृतकका आमा विन्दामाया विकले छोराको मृत्युमा प्रहरीको संलग्नता रहेको आरोप लगाएकी छन्। उनले घटना भएको लामो समयपछि मात्र परिवारलाई जानकारी दिइएको र सत्य लुकाउन खोजिएको दाबी गरिन्। “हामी दलित भएकै कारण यस्तो अन्याय भएको हो,” उनले भनिन्।
घटनापछि पीडित परिवार र अधिकारकर्मीहरू चार दिनदेखि निष्पक्ष छानबिनको माग गर्दै आन्दोलनरत छन्। उनीहरूले उच्चस्तरीय छानबिन समिति गठन गर्न तथा दोषीमाथि कारबाही गर्न माग गरेका छन्। साथै, राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय दलित आयोगलगायत निकायमा निवेदन दिइएको छ।
यसैबीच, जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरेको जनाएको छ। प्रमुख जिल्ला अधिकारीले घटनाको सत्यतथ्य पत्ता लगाउन अनुसन्धान जारी रहेको बताएकी छन्।
परिवारले भने निष्पक्ष छानबिन नभएसम्म शव पोस्टमार्टम नगर्ने र नबुझ्ने अडान लिएको छ। घटनाले प्रहरी हिरासतमा हुने मानव अधिकार उल्लंघन र जातीय विभेदका विषयमा गम्भीर प्रश्न उठाएको छ।