काठमाडौं । ओमान, अमेरिका र स्कटल्यान्ड सम्मिलित एकदिवसीय क्रिकेट श्रृंखलामा नेपालले निराशाजनक सुरुआत गरेको छ।
बुधबार मूलपानी क्रिकेट मैदानमा भएको पहिलो खेलमा नेपाल ‘ए’ टोली ओमानसँग ७१ रनले पराजित भयो। ओमानले दिएको २८१ रनको लक्ष्य पछ्याएको नेपाल ४४.३ ओभरमा सबै विकेट गुमाउँदै २०९ रनमै समेटियो।
नेपालका लागि इशान पाण्डे र कप्तान अनिल कुमार साहले अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन। इशानले ६२ बलमा ५२ रन बनाउँदा तीन चौका प्रहार गरे भने अनिलले ६४ बलमा ५० रन जोड्दै ६ चौका हाने। यसैगरी देव खनालले ४२, ओपनर तृतराज दासले ३१ र सन्दीप जोराले ११ रन बनाए। अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन्।
ओमानका बलर शकेल अहमद र हस्नैन अली साहले समान तीन विकेट लिएर नेपालको ब्याटिङ लाइनअप ध्वस्त पारे। नदिम खान र मुजीबर अलीले दुई-दुई विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८० रन बनाएको थियो। ओमानका लागि मुजिबर अलीले ८५ बलमा ७२ रनको उत्कृष्ट अर्धशतक प्रहार गरे, जसमा चार चौका र तीन छक्का समावेश थिए।
ओपनर जतिन्दर सिंहले ५८ रन जोड्दा हसिर दाफेदारले ४६ रनको योगदान दिए। आसिश ओडेदाराले २७, विनायक शुक्लाले २५ र अविजित जितेन रमानन्दीले १७ रन बनाए। नेपालका आकाश चन्दले उत्कृष्ट बलिङ गर्दै ९ ओभरमा ३१ रन खर्चेर चार विकेट लिए। सन्तोष यादवले दुई विकेट लिए भने साहब आलम, शेर मल्ल र राशिद खानले समान एक–एक विकेट लिए।
श्रृंखलाअन्तर्गत नेपाल र ओमानबीचको दोस्रो खेल आगामी शुक्रबार हुनेछ।
यो श्रृंखला अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) क्रिकेट विश्वकप लिग-२ को तयारीका रूपमा आयोजना गरिएको हो। नेपालले लिग-२ अन्तर्गत ओमानसँग अप्रिल २९ र मे ५ मा खेल्ने तालिका रहेको छ।