काठमाडौं । आईसीसी महिला टी-२० च्यालेन्ज ट्रफी अन्तर्गत रुवान्डामा जारी प्रतियोगितामा नेपाली महिला क्रिकेट टोलीले आज आफ्नो तेस्रो खेल खेल्दैछ। नेपालले आयोजक रुवान्डासँग प्रतिस्पर्धा गर्न लागेको हो।
नेपाल र रुवान्डाबीचको खेल नेपाली समयअनुसार दिउँसो १२:४५ बजे सुरू हुनेछ। प्रतियोगितामा सुरुआती दुई खेलमध्ये नेपालले मिश्रित नतिजा निकालेको छ। पहिलो खेलमा अमेरिका सँग ४४ रनले पराजित भएको नेपालले दोस्रो खेलमा इटाली माथि ५० रनको प्रभावशाली जित हासिल गरेको थियो।
हालसम्म तीन खेल खेलेको रुवान्डा चार अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ भने इटाली पनि समान अंकका साथ दोस्रो स्थानमा छ। दुई खेलबाट दुई अंक जोडेको अमेरिका तेस्रो स्थानमा रहँदा नेपाल चौथो स्थानमा छ। भानुआतु भने दुवै खेलमा पराजित हुँदै पुछारमा रहेको छ।
प्रतियोगितामा नेपाल, रुवान्डा, अमेरिका, इटाली र भानुआतु गरी पाँच टोलीको सहभागिता रहेको छ। प्रत्येक टोलीले एक-अर्कासँग दुई-दुई खेल खेल्नेछन् र अंकतालिकाको शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ। नेपालले आफ्नो आगामी खेलहरूमा अप्रिल २४ मा भानुआतु, अप्रिल २६ मा अमेरिका, अप्रिल २८ मा पुनः रुवान्डा, अप्रिल ३० मा भानुआतु र मे १ मा इटालीसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ।
नेपाली टोलीको कप्तानी इन्दु बर्माले गरिरहेकी छन् भने उप-कप्तानका रूपमा पूजा महतो रहेकी छन्। टोलीमा विन्दु रावल, सम्झना खड्का, रुबी पोद्दार, रुबिना क्षेत्री, कविता जोशी, कविता कुँवर, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, अनु कडायत, मनीषा उपाध्याय र रचना चौधरी समावेश छन्।