काठमाडौं । भैरहवामा वैशाख ८ गतेदेखि ‘खुकुरी टी-२० कप’ क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। लुम्बिनी खुकुरी क्लब बेलहियाको आयोजनामा सिद्धार्थनगर नगरपालिका-३ स्थित सिद्धार्थ क्रिकेट रंगशालामा प्रतियोगिता सञ्चालन गरिनेछ।
आयोजकले आइतबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिता वैशाख १५ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो। क्लबका अध्यक्ष महेश थापाका अनुसार प्रतियोगितामा तीन भारतीय टोलीसहित कुल १६ टोलीको सहभागिता रहनेछ।
क्लबका सहसचिव तथा प्रतियोगिता संयोजक नन्दन श्रेष्ठले क्रिकेटको विकासलाई नयाँ आयाम दिने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको बताए। उनले यस प्रतियोगिताबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
क्लबका सल्लाहकार धर्मराज गिरीका अनुसार प्रतियोगिताको विजेतालाई रु एक लाख ११ हजार १११, उपविजेतालाई रु ५५ हजार ५५५ प्रदान गरिनेछ। यसैगरी, ‘म्यान अफ दि सिरिज’ लाई रु १५ हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानलाई जनही रु ५ हजार ५५५ तथा प्रत्येक खेलको ‘म्यान अफ दि म्याच’ लाई रु १ हजार ५०० पुरस्कार प्रदान गरिनेछ।
सिद्धार्थनगर नगरपालिका-१ का वडाध्यक्ष उज्जवल पोखरेलले प्रतियोगिताले स्थानीय खेलाडीलाई अवसर प्रदान गर्दै क्रिकेटको विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताए। उनले प्रतियोगिता सञ्चालनका लागि वडा कार्यालयबाट रु पाँच लाख सहयोग प्रदान गरिएको जानकारी दिए।
लुम्बिनी प्रेस क्लब रुपन्देहीका अध्यक्ष कमल रायमाझीले लुम्बिनी खुकुरी क्लब खेलकुद प्रवर्द्धनमा सक्रिय संस्थाका रूपमा स्थापित भएको बताए।
पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनले प्रतियोगिता सञ्चालनका लागि करिब रु ११ लाख ५० हजार खर्च हुने जानकारी दिए। प्रतियोगिता सिद्धार्थनगर-१ वडा कार्यालयको सहयोग तथा रुपन्देही क्रिकेट संघको सहकार्यमा सञ्चालन हुने क्लबका सचिव ओजश शर्माले बताए।
‘खुकुरी टी-२० कप’ ले क्षेत्रीय मात्र नभई राष्ट्रिय स्तरमा क्रिकेट प्रतिभा पहिचान र विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।