काठमाडौं । वसन्तयामसँगै विश्वको सातौँ अग्लो धौलागिरि हिमालमा यस वर्षको आरोहण सुरु भएको छ। ८,१६७ मिटर उचाइको धौलागिरि हिमालमा शनिबार पहिलो दिनमै ९ जनाको टोलीले सफल आरोहण गरेको छ।
इमेजिन नेपाल कम्पनीमार्फत आरोहणमा गएका चार विदेशी र पाँच नेपाली आरोहीले पहिलो सफल आरोहण गरेका हुन्। टोलीमा चीनका लिउ होङ, लिउ यिशी, वाङ झोङ, स्विट्जरल्यान्डका क्रिस्टिन भोगोन्डी तथा नेपालका फुर ग्याल्जेन शेर्पा, पासाङ नाम्गेल शेर्पा, किली पेम्बा शेर्पा, ङिमा नुरु शेर्पा र पेम्बा छिरी शेर्पा सहभागी थिए।
शनिबार दिउँसो करिब ११:४० बजे शिखरमा पुगेको टोली सकुशल तेस्रो आधार शिविरमा फर्किएको आरोहण टोलीका नेता फुर ग्याल्जेन शेर्पाले जानकारी दिए। शेर्पा टोलीले हिउँमा डोरी टाँगेर मार्ग निर्माण गरेपछि अन्य आरोहीहरू शिखरमा पुग्न सफल भएका थिए।
पर्यटन विभागका अनुसार यस वसन्तयाममा धौलागिरि आरोहणका लागि तीन समूहका २८ जनाले अनुमति लिएका छन्, जसमा १२ महिला र १६ पुरुष छन्। अनुमति शुल्कबाट सरकारले रु १ करोड २५ लाख ६० हजार ८५० राजस्व संकलन गरेको छ।
धौलागिरि हिमाल आरोहण मौसमको तीव्र परिवर्तनका कारण चुनौतीपूर्ण मानिन्छ। अन्य हिमालको तुलनामा यो आरोहण जोखिमपूर्ण र साहसिक मानिन्छ।
इतिहासमा पहिलो पटक सन् १९६० मे १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गर नेतृत्वको टोलीले धौलागिरि हिमालको सफल आरोहण गरेको थियो। उक्त टोलीमा पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्जे र नवाङ दोर्जे समेत सहभागी थिए।