काठमाडौँ । आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी २०२६ आजदेखि सुरु हुँदैछ। प्रतियोगिताको पहिलो खेलमा नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। खेल गहङ्गा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा साँझ पौने ५ बजे सुरु हुनेछ।
टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र अमेरिका पहिलोपटक आमनेसामने हुन लागेका हुन्। यसअघि नेपालले अभ्यास खेलमा मात्र अमेरिकासँग खेलेको थियो। नेपालका लागि प्रतियोगितामा सहभागी अन्य टोलीसँग पनि यो पहिलो टी-२० अन्तर्राष्ट्रिय भिडन्त हुनेछ।
शनिबारदेखि सुरु हुने प्रतियोगिता मे १ सम्म सञ्चालन हुनेछ। आयोजक रुवान्डासहित नेपाल, अमेरिका, इटाली र भानुआतु सहभागी छन्। सबै टोलीले एक-अर्कासँग दुईपटक खेल्ने डबल राउण्ड रोबिन प्रणाली अपनाइएको छ, जहाँ सबैभन्दा बढी अंक ल्याउने टोली च्याम्पियन बन्नेछ।
नेपाल महिला टोली पहिलोपटक रुवान्डामा खेल्न लागेको हो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले एसोसिएट राष्ट्रहरूलाई अवसर दिन यो प्रतियोगिता पहिलोपटक आयोजना गरेको हो। वरियताका आधारमा नेपाल सहभागी पाँच टोलीमध्ये २१औं स्थानमा सबैभन्दा अगाडि छ। त्यसपछि इटाली २३औं, अमेरिका २४औं, रुवान्डा २५औं र भानुआतु ३०औं स्थानमा छन्।
नेपालले दोस्रो खेल आइतबार इटालीसँग खेल्नेछ। त्यसपछि तेस्रो खेल रुवान्डासँग, चौथो खेल भानुआतुसँग हुनेछ। यस्तै पाँचौं खेल पुनः अमेरिकासँग खेलिनेछ।
यस प्रतियोगिताले नेपाली महिला क्रिकेट टोलीलाई अन्तर्राष्ट्रिय अनुभव बटुल्ने र आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।