काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आईसीसी महिला च्यालेन्ज ट्रफीमा सहभागिता जनाउने भएको छ। प्रतियोगिता अप्रिल १८ देखि मे १ सम्म रुवान्डामा सञ्चालन हुनेछ।
प्रतियोगितामा नेपालसहित घरेलु टोली रुवान्डा, इटाली, अमेरिका र भानुआतुले प्रतिस्पर्धा गर्नेछन्। नेपालले आफ्नो पहिलो खेल अप्रिल १८ मा अमेरिकासँग खेल्ने तालिका रहेको छ।
यसैगरी नेपालले अप्रिल १९ मा इटाली, २२ मा रुवान्डा र २४ मा भानुआतुसँग खेल्नेछ। दोस्रो चरणका खेलहरूमा नेपालले अप्रिल २६ मा अमेरिका, २८ मा रुवान्डा, ३० मा भानुआतु र मे १ मा इटालीसँग प्रतिस्पर्धा गर्नेछ।
बुधबार विदाई गरिएको नेपाली टोलीको कप्तानी इन्दु बर्माले गर्नेछिन् भने उपकप्तानमा पूजा महतो रहेकी छन्। टोलीका अन्य खेलाडीहरूमा बिन्दु रावल, रुबिना क्षेत्री, रुबी पोदार, रोमा थापा, कविता जोशी, कविता कुँवर, सम्झना खड्का, अनु कडायत, सुमन विष्ट, रिया शर्मा, रचना चौधरी र मनीषा उपाध्याय रहेका छन्।
प्रतियोगितालाई नेपाली महिला क्रिकेटका लागि अन्तर्राष्ट्रिय अनुभव बटुल्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।