एजेन्सी । अमेरिका र इरानबीच अप्रिल २१ मा सकिन लागेको युद्धविरामअघि नै शान्ति सम्झौतामा पुग्ने प्रयास तीव्र पारिएको छ। अमेरिकी सञ्चारमाध्यमका अनुसार केही मतभेदहरू बाँकी रहे पनि दुवै पक्षबीचको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको छ।
विशेषगरी इरानको आणविक कार्यक्रमलाई केन्द्रमा राखेर भइरहेको वार्तामा उल्लेखनीय प्रगति भएको जनाइएको छ। यस प्रक्रियामा पाकिस्तान, इजिप्ट र टर्कीले मध्यस्थकर्ताको भूमिका निभाइरहेका छन्।
सम्झौताका लागि ‘ब्याक च्यानल’ कूटनीतिक सम्पर्कहरू जारी छन् भने दुवै पक्षबीच मस्यौदा प्रस्तावहरू आदानप्रदान भइरहेको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्ससहित स्टिभ विटकफ र जेरेड कुश्नरले वार्ताको प्रक्रियामा सक्रिय भूमिका निर्वाह गरिरहेका छन्।
यसैक्रममा पाकिस्तानका सेना प्रमुख आसिम मुनीरले तेहरानमा इरानी अधिकारीहरूसँग भेटवार्ता गरेका छन्। उनले इरानी विदेशमन्त्री अब्बास अराघचीसँग छलफल गरिसकेका छन् र अमेरिकी सन्देश बोकेर तेहरान पुगेको बताइएको छ।
ह्वाइट हाउसले इरानसँग सम्झौता हुने सम्भावनाप्रति आफूहरू आशावादी रहेको जनाएको छ। दोस्रो चरणको वार्ता पुनः पाकिस्तानमै हुन सक्ने संकेत गरिएको छ। यसअघि अप्रिल ११ मा इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन बनेको थियो।
यसबीच होर्मुज स्ट्रेटमा अमेरिकी नौसैनिक नाकाबन्दी र कडा आर्थिक प्रतिबन्धका कारण इरानमाथि ठूलो दबाब परेको बताइएको छ। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार नाकाबन्दीपछि पछिल्लो ४८ घण्टामा कुनै पनि जहाज इरानी बन्दरगाहमा प्रवेश गर्न सकेको छैन भने केही जहाजहरू फर्काइएको छ।
इरानले दैनिक करिब १५ लाख ब्यारेल तेल निर्यात गर्दै आएको छ, जसबाट ठूलो आम्दानी हुने गर्छ। तर नाकाबन्दी लम्बिएमा तेल उत्पादनमा असर पर्ने र अर्थतन्त्र थप संकटमा पर्न सक्ने विश्लेषण गरिएको छ। यसैबीच चीनले पनि क्षेत्रीय स्थिरताका लागि कूटनीतिक पहल बढाएको छ। चिनियाँ विदेशमन्त्री वाङ यीले इरानी समकक्षीसँग संवाद गर्दै होर्मुज स्ट्रेटमा आवागमन सामान्य बनाउन आग्रह गरेका छन्।
ह्वाइट हाउसका अधिकारीहरूले इरान सम्झौताका लागि तयार नभए नाकाबन्दी अनिश्चितकालसम्म जारी रहन सक्ने चेतावनी दिएका छन्। विश्व बैंकका प्रमुख अर्थशास्त्री इन्दरमित गिलले इरानसम्बन्धी तनावका कारण विश्वव्यापी खाद्य संकट गहिरिन सक्ने चेतावनी दिएका छन्।
युद्धविरामको समयसीमा नजिकिँदै जाँदा मध्यपूर्वमा कूटनीतिक प्रयास र सैन्य तनाव दुवै सँगसँगै बढिरहेका छन्। अबका केही दिनहरूले शान्ति सम्झौता वा थप द्वन्द्वको दिशा निर्धारण गर्ने देखिन्छ।