काठमाडौं । काठमाडौंको टुँडिखेलमा आज प्रथम अन्तर्राष्ट्रिय आरोग्य (वेलनेस) दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा सम्पन्न कार्यक्रममा सभामुख डिपी अर्याल, पर्यटनमन्त्री खडक राज पौडेललगायत विभिन्न सरकारी निकाय, संघसंस्था तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।
नेपालको पहलमा सुरु गरिएको अन्तर्राष्ट्रिय आरोग्य दिवस यसै वर्षदेखि विश्वका विभिन्न देशहरूमा पनि मनाउन थालिएको छ। समग्र स्वास्थ्य, मानसिक सन्तुलन र सुखमय जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ यो दिवस स्थापना गरिएको हो।
संयुक्त राष्ट्रसंघको महासभाले प्रत्येक वर्ष अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवसका रूपमा मनाउने घोषणा गरेको छ। नेपालको प्रस्तावलाई महासभाले गत २६ फागुनमा अनुमोदन गरेको थियो।
दिवसका अवसरमा आयोजित कार्यक्रममा योग, ध्यान, स्वास्थ्य सचेतना र जीवनशैली सुधारसम्बन्धी विभिन्न गतिविधिहरू सञ्चालन गरिएको थियो। सहभागीहरूले स्वस्थ जीवनशैली अपनाउन र मानसिक तथा शारीरिक सन्तुलन कायम गर्न आवश्यक रहेकोमा जोड दिएका थिए।
यस दिवसले विश्वभर स्वास्थ्यप्रति चेतना अभिवृद्धि गर्न र दीर्घकालीन रूपमा स्वस्थ समाज निर्माणमा योगदान पुग्ने विश्वास लिइएको छ।