काठमाडौं । साझा यातायातले आजदेखि काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालनमा ल्याएको छ। नयाँ वर्ष २०८३ को अवसर पारेर सुरु गरिएको यो सेवा काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, बुढानिलकण्ठ नगरपालिका र चन्द्रागिरी नगरपालिकाको सहकार्यमा सञ्चालनमा आएको हो।
यस सेवाअन्तर्गत बसहरू बेलुका ८ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुनेछन्। यात्रुको सुविधा र पहुँचलाई ध्यानमा राख्दै दुई प्रमुख रुट निर्धारण गरिएको छ। पहिलो रुट ललितपुरको लगनखेलबाट सुरु भई पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति बाल अस्पताल, शिक्षण अस्पताल र गंगालाल हृदय केन्द्र हुँदै बुढानिलकण्ठसम्म पुग्नेछ।
त्यसैगरी दोस्रो रुट थानकोटबाट सुरु भई सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन र तीनकुने हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म सञ्चालन हुनेछ। फर्किने क्रममा बसले विमानस्थलबाट तीनकुने, मीनभवन, बबरमहल र थापाथली हुँदै पुनः थानकोटसम्म सेवा दिनेछ।
नयाँ सडक क्षेत्रलाई मुख्य ट्रान्जिट बिन्दु बनाइएको छ, जहाँबाट यात्रुहरूले सजिलै रुट परिवर्तन गर्न सक्ने व्यवस्था गरिएको छ। यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै प्रत्येक बसमा चारवटा सीसीटिभी क्यामेरा जडान गरिएको छ भने काठमाडौं महानगरपालिकाले प्रत्येक बसमा एकजना नगर प्रहरीसमेत खटाएको छ।
रात्रिकालीन बस सेवाले विशेषगरी बेलुका काम गर्ने श्रमिक, महिला तथा अन्य यात्रु वर्गलाई सुरक्षित, सहज र भरपर्दो सार्वजनिक यातायात सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ।