काठमाडौं । काठमाडौंमा १६औँ संस्करणको विन्ध्यवासिनी म्युजिक अवार्ड भव्यताका साथ सम्पन्न भएको छ। शुक्रबार साँझ जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा विभिन्न १२ विधामा अवार्ड तथा ५ विशिष्ट सम्मान प्रदान गर्दै नेपाली संगीत क्षेत्रका सर्जक र कलाकारहरूको योगदानको कदर गरिएको हो।
अवार्डतर्फ ‘परेली’ गीतबाट शिव परियार सर्वोत्कृष्ट गायक घोषित भए भने ‘के हेरेको टुलुटुलु’ बाट समिक्षा अधिकारी सर्वोत्कृष्ट गायिका चुनिइन्। ‘मिर्मिरेमा बासेको भाले’ बाट शिव हमाल उत्कृष्ट संगीतकार तथा ‘परदेशी हुनै मन छैन’ बाट भुपेन्द्र बुढाथोकी उत्कृष्ट गीतकार घोषित भए।
लोकदोहोरी विधामा ‘झलिको’ बाट अर्जुन सापकोटा उत्कृष्ट गायक तथा ‘भ्याप्पै आए बाहुन दाई’ बाट ज्योति मगर उत्कृष्ट गायिका बने। म्युजिक भिडियोतर्फ ‘कता हिँड्रयो साइला’ बाट प्रभात पल ठकुरी र गीता ढुंगाना उत्कृष्ट मोडल जोडी घोषित भए भने ‘मायालाई पानको पात’ बाट विक्रम चौहान उत्कृष्ट निर्देशक चुनिए।
त्यसैगरी ‘ए आमा जाम भन्यो मलाई’ बाट बुद्ध थापा उत्कृष्ट छायाँकार, ‘वैशले जुरुक्क पार्यो’ बाट दीपक विष्ट उत्कृष्ट म्युजिक भिडियो संगीतकार तथा ‘पैसा जोगाउन’ बाट रीतु बोहरा नवप्रतिभा अवार्डबाट सम्मानित भए। सबै विजेतालाई जनही ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो।
कार्यक्रममा विशेष सम्मानअन्तर्गत वरिष्ठ संगीतकार शम्भुजीत बासकोटालाई एक लाख रुपैयाँसहित विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरियो। गीतकार विजय शिवाकोटीलाई ५० हजार रुपैयाँसहित संगीत साधना सम्मान, गायिका रचना रिमाललाई २५ हजार रुपैयाँसहित प्रेमध्वज संगीत रत्न सम्मान, लोकगायक पशुपति शर्मालाई झलकमान लोक संगीत सम्मान तथा पत्रकार पवन आचार्यलाई कला पत्रकारिता सम्मान प्रदान गरिएको थियो।
कार्यक्रम राष्ट्रिय गानबाट सुरु भई विविध सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिसँगै सम्पन्न भएको थियो। समिक्षा अधिकारी, रचना रिमाल र पशुपति शर्माको प्रस्तुति दर्शकका लागि विशेष आकर्षण बनेको थियो।
फाउण्डेसनकी अध्यक्ष लीना शर्मा रेग्मीले नेपाली सांगीतिक सर्जकहरूको सम्मान, संरक्षण र प्रोत्साहनका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइँदै आएको बताइन्।