काठमाडौं । काठमाडौंमा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको १२औं राष्ट्रिय शिखर सम्मेलन पाँच बुँदे घोषणापत्र जारी गर्दै आइतबार सम्पन्न भएको छ। तीन दिनसम्म चलेको सम्मेलनले स्वास्थ्य अनुसन्धान, सुशासन तथा दिगो विकास लक्ष्यप्रति पुनः प्रतिबद्धता व्यक्त गरेको छ।
सम्मेलनको उद्घाटन उपराष्ट्रपति रामसहायप्रसाद यादवले गरेका थिए। उद्घाटनका क्रममा उनले पछिल्लो समय नयाँ-नयाँ रोगहरूको जोखिम बढ्दै गइरहेको उल्लेख गर्दै स्वास्थ्य अनुसन्धानको आवश्यकता झन् महत्वपूर्ण बनेको बताए। संक्रामक तथा नसर्ने रोग, आहार-विहार, व्यवहार र मानव स्वास्थ्यसँग सम्बन्धित क्षेत्रमा निरन्तर अध्ययन अपरिहार्य रहेको उनले जोड दिए।
यस वर्ष सम्मेलनका लागि प्राप्त ४६५ एब्स्ट्र्याक्टमध्ये ९१ मौखिक र १२० पोस्टर प्रस्तुति छनोट गरिएको थियो। कार्यक्रममा एक प्लेनरी सेसन, ३५ आमन्त्रित प्रस्तुति, १२ समानान्तर सत्र तथा पाँच प्यानल छलफल आयोजना गरिएको थियो।
सम्मेलनले स्वास्थ्य अनुसन्धान सुशासनलाई प्रमाणमा आधारित नीति निर्माण र प्रभावकारी कार्यान्वयनको आधारका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएको छ। जारी घोषणापत्रमा नेपालमा पारदर्शी र जवाफदेही स्वास्थ्य अनुसन्धान प्रणाली सुदृढ गर्दै संस्थागत गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
त्यस्तै, नसर्ने रोगहरूको रोकथामका लागि ‘समग्र सरकार’ र ‘समग्र समाज’ दृष्टिकोण अपनाउँदै लगानी वृद्धि गर्नुपर्नेमा जोड दिइएको छ। कृत्रिम बौद्धिकता, ठूला डेटा र डिजिटल स्वास्थ्य प्रविधिको नैतिक प्रयोग सुनिश्चित गर्दै सुरक्षित र केन्द्रीयकृत राष्ट्रिय स्वास्थ्य डेटा भण्डार विकास गर्ने विषयलाई पनि प्राथमिकता दिइएको छ।
घोषणापत्रले स्वास्थ्य अनुसन्धानमा सामाजिक न्याय, ‘वन हेल्थ’ र जलवायु-अनुकूल दृष्टिकोण प्रवर्द्धन गर्ने उल्लेख गरेको छ। साथै, प्रमाणमा आधारित नीति तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनका लागि दिगो वित्तीय व्यवस्थापन सुनिश्चित गर्न तथा शैक्षिक संस्था र उद्योगबीच सहकार्य सुदृढ गर्नुपर्नेमा पनि जोड दिएको छ।
सम्मेलनले समग्र स्वास्थ्य क्षेत्र सुधारका लागि अनुसन्धान-आधारित निर्णय प्रक्रिया मजबुत बनाउनु अपरिहार्य रहेको निष्कर्ष निकालेको छ।