काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले निर्माणाधीन प्रदेश रंगशालाको काम शीघ्र सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
कर्णाली प्रदेश खेलकुद विकास परिषद् को बैठकलाई सम्बोधन गर्दै उनले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि रंगशाला निर्माण कार्यमा ढिलाइ गर्न नहुने बताए। उनले आवश्यक बजेट विनियोजन भइसकेको उल्लेख गर्दै बाँकी काम समयमै सम्पन्न गर्न आग्रह गरे। मुख्यमन्त्री कँडेलले निर्माण व्यवसायी तथा सरोकारवाला पक्षलाई समन्वयमा काम गर्दै निर्धारित समयसीमाभित्र निर्माण कार्य टुंग्याउन आग्रह गरे। “अब कुनै पनि बहानामा काम रोक्ने अवस्था हुनुहुँदैन,” उनले भने।
उनले निर्माण कार्यको प्रभावकारी अनुगमन र समन्वय आवश्यक रहेको उल्लेख गर्दै जिम्मेवार निकायहरूलाई आफ्नो भूमिकाप्रति गम्भीर हुन निर्देशन दिए। कार्यतालिका अनुसार काम अघि बढाउन र बाँकी काम समयमै सम्पन्न गर्न उनले जोड दिए। रंगशाला निर्माण सम्पन्न भएपछि कर्णाली प्रदेश मा खेलकुद गतिविधि विस्तार हुने र नयाँ अवसर सिर्जना हुने विश्वास व्यक्त गर्दै उनले खेलकुद क्षेत्रको दीर्घकालीन विकासका लागि स्पष्ट योजना आवश्यक रहेको बताए।
उनले खेलाडीहरूको क्षमता अभिवृद्धि, नियमित प्रशिक्षण, आवश्यक पूर्वाधार निर्माण तथा प्रतियोगिताहरूको निरन्तर आयोजनामा ध्यान दिनुपर्नेमा जोड दिए। साथै, प्रदेशका विभिन्न जिल्लामा खेल पूर्वाधार विकासका लागि स्पष्ट योजना र बजेटसहित संघीय सरकारसमक्ष प्रस्ताव पेश गर्न निर्देशन दिएका छन्।
आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन पूर्वाधार, आवास र व्यवस्थापनका पक्षहरू समयमै सुनिश्चित गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्।
बैठकमा परिषद्का पदाधिकारीहरूले रंगशालाको वर्तमान प्रगति, चुनौती र आगामी कार्ययोजनाबारे जानकारी गराएका थिए।