काठमाडौं । मानवलाई आधा शताब्दीपछि पुनः चन्द्रमाको नजिक पुर्याएको ऐतिहासिक ‘आर्टेमिस-२’ अभियानको अन्तरिक्ष टोली १० दिनको यात्रापछि सुरक्षित रूपमा पृथ्वीमा फर्किएको छ।
चन्द्रमाको टाढाको भागदेखि दुर्लभ खगोलीय दृश्यहरूको अवलोकन गर्दै अन्तरिक्ष यात्रीहरूको टोली शनिबार प्रशान्त महासागरमा सफलतापूर्वक अवतरण गरेको हो। अन्तरिक्ष यात्राका क्रममा देखिएको पूर्ण सूर्यग्रहण, ग्रहहरूको अद्भुत पङ्क्ति र पृथ्वीको दृश्यले यस अभियानलाई वैज्ञानिकसँगै भावनात्मक रूपमा पनि विशेष बनाएको छ।
मिसन सम्पन्न गरी फर्किएका कमान्डर रिड वाइसम्यान, पाइलट भिक्टर ग्लोभर, क्रिस्टिना कोच र क्यानाडाका जेरेमी ह्यानसेन समुद्रमा अवतरण गरेको क्याप्सुलबाट बाहिरिँदा उनीहरूमा उत्साह र राहत दुवै झल्किएको थियो। सैन्य हेलिकप्टरमार्फत उनीहरूलाई उद्धार गरी अमेरिकी नौसेनाको जहाजसम्म पुर्याइएको थियो।
मिसनको सफलतापछि अन्तरिक्ष अनुसन्धान केन्द्रमा उत्सवको माहोल देखिएको थियो। अधिकारीहरूले यसलाई ‘नयाँ मुनसटको सुरुआत’ का रूपमा व्याख्या गरेका छन्। ओरिअन क्याप्सुलले पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा ध्वनिको गतिभन्दा ३३ गुणा बढी गतिमा यात्रा गरेको थियो। पुनः प्रवेशका क्रममा क्याप्सुल अत्यधिक तापमा प्लाज्माले घेरिएको कारण केही समय सञ्चार अवरुद्ध भएको थियो, जसलाई मिसनको सबैभन्दा संवेदनशील चरण मानिएको थियो।
करिब छ मिनेटको सञ्चार अवरोधपछि क्याप्सुल पुनः सम्पर्कमा आउँदा वैज्ञानिक र परिवारजनले राहत महसुस गरेका थिए। अन्ततः उच्च गतिबाट घट्दै क्याप्सुल सुरक्षित रूपमा समुद्रमा अवतरण भएको थियो।
यस अभियानले विविधता र समावेशीताको सन्देश पनि दिएको छ। क्रिस्टिना कोच चन्द्रतर्फ उड्ने पहिलो महिला बनेकी छन् भने भिक्टर ग्लोभर पहिलो अश्वेत अन्तरिक्ष यात्री र जेरेमी ह्यानसेन पहिलो गैरअमेरिकी नागरिकका रूपमा इतिहासमा दर्ज भएका छन्।
अप्रिल १ मा फ्लोरिडाबाट प्रस्थान गरेको टोलीले मानव इतिहासकै सबैभन्दा टाढाको दूरी पार गर्दै नयाँ कीर्तिमान कायम गरेको छ। यात्राका क्रममा अन्तरिक्ष यात्रीहरूले चन्द्रमाको टाढाको भागका दुर्लभ दृश्यहरू कैद गरेका छन् । यात्राका क्रममा केही प्राविधिक समस्या देखिए पनि टोलीले ती चुनौतीहरू सफलतापूर्वक समाधान गरेको जनाएको छ। पिउने पानी प्रणाली, इन्धन नियन्त्रण भल्भ र शौचालयसँग सम्बन्धित समस्याहरूलाई व्यवस्थापन गरिएको थियो।
सम्बन्धित निकायका अनुसार यो अभियान आगामी चन्द्र अवतरण योजनाको परीक्षण उडानका रूपमा सञ्चालन गरिएको हो। आगामी चरणहरूमा थप अभ्यास उडान तथा चन्द्रमाको दक्षिणी ध्रुवमा मानव अवतरण गर्ने लक्ष्य राखिएको छ।
अन्तरिक्ष यात्रीहरूले यस यात्रालाई केवल प्राविधिक उपलब्धि मात्र नभई मानवतालाई एकताबद्ध गर्ने अवसरका रूपमा लिन आग्रह गरेका छन्। पृथ्वीको सुन्दरता र ब्रह्माण्डमा यसको विशेष स्थान सम्झाउँदै उनीहरूले साझा भविष्यतर्फ अघि बढ्न प्रेरणा दिएका छन्।