काठमाडौं । नेपाली उदियमान चेस खेलाडी निहाना श्रेष्ठले अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्दै रजत पदक जित्न सफल भएकी छन्। फिडे वर्ल्ड स्कुल टिम चेस च्याम्पियनसिप अन्तर्गत एशियन कन्टिनेन्टल चरणमा उनले सात खेलबाट ५-५ अंक जोड्दै व्यक्तिगत चौथो बोर्ड समूहमा दोस्रो स्थान हासिल गरेकी हुन्।
प्रतियोगितामा निहानाले अष्ट्रेलिया, भारत, हङकङ, उज्बेकिस्तान र सिङ्गापुरका खेलाडीहरूविरुद्ध शानदार जित हात पारिन्। उनले चीनसँग बराबरी खेलिन् भने पाकिस्तानसँग एक मात्र हार बेहोरेकी थिइन्।
काजकिस्तानको अल्माटीमा सम्पन्न आठ चरणको टोली प्रतिस्पर्धामा नेपाली टोलीले मिश्रित प्रदर्शन गरेको छ। नेपालले तीन खेलमा जित, एक खेलमा बराबरी र चार खेलमा हार बेहोर्दै कुल ७ अंक जोडेको थियो।
नेपालका तर्फबाट ब्रिजनन्दन दास, कृष्टि रिजाल, आकाश शरण कुँवर, निहाना श्रेष्ठ र सुहानी सिंहले सहभागिता जनाएका थिए। टोलीका व्यवस्थापक निरञ्जन प्रजापति तथा प्रशिक्षक रिजेन्द्र राजभण्डारी रहेका थिए।
नेपाली टोलीले अष्ट्रेलियाको कार्लटोन गार्डेन्स स्कुलसँग २–२ को बराबरी खेलेको थियो भने भारतको डोलिङ्गो ड्रिमर्स स्कुल, उज्बेकिस्तानको एम एल ख्वारिज्मी स्कुल र सिङ्गापुरको राफलेस गर्ल्स प्राइमरी स्कुलविरुद्ध क्रमशः ३–१, ३–१ र ३.५–०.५ को जित निकालेको थियो। यद्यपि चीन, पाकिस्तान, हङकङ र ताजिकिस्तानविरुद्ध प्रतिस्पर्धात्मक खेलमा नेपालले हार बेहोर्नुपरेको थियो।
चार महादेशीय छनोट चरणअन्तर्गत सम्पन्न प्रतियोगिताबाट एशियाबाट उज्बेकिस्तानको विज्डम स्कुल शीर्ष स्थानमा रहँदै ग्रान्ड फाइनलका लागि छनोट भएको छ। एशिया, अफ्रिका, अमेरिका र युरोपका विजेता टोलीहरूबीच आगामी डिसेम्बरमा अन्तिम प्रतिस्पर्धा हुने कार्यक्रम रहेको छ।
यसैबीच, सन् २०२६ लाई “विद्यालयमा चेसको वर्ष” घोषणा गरिएको छ, जसले विद्यालयस्तरमा चेस खेलको विकासलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।
उक्त प्रतियोगितामा एशियाका १९ राष्ट्रका २६ टोली सहभागी भएका थिए, जसमा नेपाल २०औं स्थानमा रहँदै प्रतियोगिता सम्पन्न गरेको नेपाल बुद्धिचाल महासंघले जनाएको छ।