काठमाडौं । नेपाली कथानक फिल्म ‘एलिफेन्ट्स् इन द फग्’ विश्वप्रसिद्ध ७९औँ कान्स चलचित्र महोत्सवको ‘अन सर्टेन रिगार्ड’ विधामा छनोट भएको छ। यससँगै नेपाली फिल्मले अन्तर्राष्ट्रिय स्तरमा ऐतिहासिक उपलब्धि हासिल गरेको निर्माण पक्षले जनाएको छ।
अविनाश विक्रम शाहद्वारा लिखित तथा निर्देशित यो फिल्म अण्डरग्राउण्ड टकिज नेपाल र जयन्ती कृएसन्स्को सहकार्यमा निर्माण गरिएको हो। साथै, फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण कम्पनीहरूको समेत सहकार्य रहेको छ, जसले फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा अझ मजबुत बनाएको छ।
फिल्मको कथा जंगली हात्तीको आतंकबाट प्रभावित बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको एक परिवार वरिपरि केन्द्रित छ। ग्रामीण जीवन, सामाजिक यथार्थ र मानवीय संवेदनालाई गहिराइका साथ प्रस्तुत गरिएको यस फिल्ममा नयाँ अनुहारका कलाकारहरूसँगै गौरी मल्ल, माओत्से गुरुङ, शान्ति गिरी, संजय गुप्ता दुरा, महिमा नवबाग र आशान्त शर्मालगायतको अभिनय देख्न सकिन्छ।
फिल्मका निर्माता अनुप पौडेल रहेका छन् भने कुमुदिनी गुरुङ श्रेष्ठ, सोहम ढकाल र प्रचण्डमान श्रेष्ठ सह–निर्माताको रूपमा जोडिएका छन्। साथै, मीनबहादुर भाम, प्रवेश गुरुङ, केकी अधिकारी र प्रतीक सुवेदीलगायतका चलचित्रकर्मीले पनि निर्माणमा सहयोग गरेका छन्।
निर्देशक शाहले यसअघि आफ्नो लघु फिल्म ‘लोरी’मार्फत कान्समा पुरस्कार जित्दै अन्तर्राष्ट्रिय पहिचान बनाइसकेका छन्। ‘कालो पोथी’ र ‘शाम्बाला’ जस्ता चर्चित फिल्मका पटकथाकारका रूपमा परिचित शाहको यो पहिलो पूर्ण लम्बाइको फिल्म हो।
फिल्मको छायांकन नोए बाक र सिरिलले गरेका छन् भने सम्पादन एन्ड्र्यू बर्ड र पेरिस बर्जनले गरेका हुन्। ध्वनि, संगीत, कला निर्देशनलगायत प्राविधिक पक्षमा अन्तर्राष्ट्रिय टिमको संलग्नता रहेको निर्माण पक्षले जनाएको छ। यस वर्षको कान्स चलचित्र महोत्सव मे १२ देखि सुरु हुने तय भएको छ। उद्घाटन समारोहमा सन् १९२० को परिवेशमा आधारित कमेडी फिल्म ‘द इलेक्ट्रिक किस’ प्रदर्शन गरिने कार्यक्रम रहेको छ।
महोत्सवको निर्णायक मण्डलको नेतृत्व दक्षिण कोरियाली चर्चित फिल्ममेकर पार्क चान-वूकले गर्नेछन्। साथै, बार्बरा स्ट्राइस्यान्ड र पिटर ज्याक्सनलाई मानार्थ ‘पाल्मे ड’ओर’ पुरस्कार प्रदान गरिने घोषणा गरिएको छ।
करिब ६ दशक लामो नेपाली फिल्म इतिहासमा कान्स महोत्सवमा आधिकारिक रूपमा छनोट हुने यो पहिलो फिल्म भएको दाबी गरिएको छ। निर्माण टिमले यस उपलब्धिलाई नेपाली फिल्म क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिँदै आगामी दिनमा अझ सशक्त नेपाली कथाहरू विश्वसामु प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।