काठमाडौं । ललितपुरको मंगलबजारमा भएको छुरा प्रहार घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-९ भोलढोका बस्ने ३२ वर्षीय सञ्जु भन्ने संजिव नेपाली र नवलपरासी गैडाकोट नगरपालिका-१ घर भई हाल ललितपुर-८ बस्ने २२ वर्षीय गगन सुनार रहेका छन्।
उनीहरूले मंगलबार साँझ मंगलबजारस्थित कृष्ण मन्दिर अगाडि छुरा प्रहार गरी कमल गाउँपालिका-४ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका-१ इमाडोल बस्दै आएका ३३ वर्षीय सुमित नेम्वाङ र उनका २५ वर्षीय भाइ सृजन नेम्वाङको हत्या गरेका हुन्।
साँझ करिब साढे ७ बजे दुई पक्षबीच कुटपिट तथा चक्कु प्रहार भएको सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको थियो। गम्भीर घाइते भएका दाजुभाइलाई तत्काल उद्धार गरी ग्वार्कोस्थित बीएण्डबी अस्पताल पुर्याइएको थियो। तर उपचारका क्रममा राति करिब २ बजे चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार घटनापछि फरार हुने प्रयासमा रहेका मुख्य अभियुक्त संजिव नेपालीलाई घटनामा प्रयोग गरिएको छुरासहित पक्राउ गरिएको हो। उनका सहयोगी गगन सुनारलाई पनि नियन्त्रणमा लिइएको छ।
प्रारम्भिक अनुसन्धानमा सामान्य फोन विवादका कारण घटना भएको खुलेको छ। सुमित नेम्वाङले फोन गर्दा झुक्किएर अपरिचित नम्बरमा पुगेको र त्यसपछि गालीगलौज हुँदा विवाद बढ्दै गएको थियो। दुवै पक्षबीच मंगलबजारमा भेट्ने सहमति भएपछि कुराकानीका क्रममा विवाद उग्र बनेको प्रहरीले जनाएको छ।
उक्त क्रममा संजिव नेपालीले साथमा ल्याएको मासु काट्ने छुराले सुमितमाथि प्रहार गरेका थिए। सृजनले बचाउन खोज्दा उनलाई पनि घाँटी र पेटमा छुरा प्रहार गरिएको थियो।
प्रहरीले अभियुक्तहरूबाट छुरा, फलामे नक र स्कुटर बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान जिल्ला प्रहरी परिसर ललितपुरले गरिरहेको जनाएको छ।