काठमाडौं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित २५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौं महानगरपालिका-७ बाट ३०५ थान ट्रामाडोल ट्याब्लेटसहित दुई जना पक्राउ परेका छन्। त्यसैगरी काठमाडौं महानगरपालिका-२६ मित्रनगरबाट थप दुई जनालाई नियन्त्रणमा लिइएको छ।
चितवनको कालिका नगरपालिका-२ बाट एक र माडी नगरपालिका-६ बाट दुई जना पक्राउ परेका छन्। यस्तै, कैलालीको टीकापुर नगरपालिका-९ बालुवाटारबाट एक र सुनसरीको इनरूवा नगरपालिका-४ बसचोकबाट तीन जनालाई नियन्त्रणमा लिइएको छ।
सिन्धुपाल्चोकको लिसङ्खु पाखर गाउँपालिका-५ मुडेस्थित होटल दोलखा दर्शनबाट चार जनालाई खैरो हेरोइनसहित पक्राउ गरिएको छ।
यसैगरी, मोरङको उर्लाबारी नगरपालिका-२ डुम्रेबाट छ, झापाको मेचीनगर नगरपालिका-६ काँकरभिट्टा बाहुनडाँगी रोडबाट एक, बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२१ बाट दुई, सर्लाहीको विष्णु गाउँपालिका-५ फेन्हारा चोकबाट दुई जना पक्राउ परेका छन्।
धादिङको गजुरी गाउँपालिका-२ रातमाटेबाट ३० किलोग्राम गाँजासहित एक जना र बर्दियाको मधुवन नगरपालिका-६ बाट एक जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।