काठमाडौं । पश्चिम नेपालबाट सुरु भएको वर्षा प्रणाली बुधबार वाग्मती प्रदेशसम्म आइपुगेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ भने दिनभर देशभर नै वर्षा हुने सम्भावना रहेको छ ।
मौसमविद्का अनुसार सुदूरपश्चिम प्रदेशमा तुलनात्मक रूपमा बढी वर्षा भएको छ । डडेलधुरामा बिहान १० बजेसम्मको पछिल्लो ६ घण्टामा १०.२ मिलिमिटर वर्षा मापन गरिएको छ । अन्य स्थानमा भने हल्कादेखि मध्यम वर्षा भइरहेको जनाइएको छ ।
आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना छ । त्यस्तै, देशका धेरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी तथा असिनासहित मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ ।
काठमाडौं उपत्यकामा पनि आज अपराह्न र साँझपख वर्षा हुने सम्भावना रहेको छ । यद्यपि, यहाँ भारी वर्षाको सम्भावना भने नरहेको मौसमविद्ले बताएका छन् । उपत्यकाभित्र विभिन्न स्थानमा फरक-फरक मात्रामा वर्षा हुन सक्ने बताइएको छ ।
आज राति पनि वर्षा जारी रहनेछ भने वर्षा प्रणाली क्रमशः पूर्वतर्फ सर्दै जानेछ । कोसी, मधेस र वाग्मती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ । प्रि-मनसुनको समयमा अपराह्न र साँझपख हावाहुरी तथा मेघगर्जन हुनु सामान्य प्रक्रिया भएकाले आज पनि सोही प्रकृतिको मौसम रहने मौसमविद्ले बताएका छन् ।
विभागका अनुसार बिहीबार बिहानदेखि वर्षा क्रमशः कम हुँदै जानेछ । दिउँसोपछि अधिकांश स्थानमा मौसम सफा हुन थाल्नेछ भने पश्चिम नेपालमा छिट्टै सुधार देखिनेछ । कोसी प्रदेश तथा हिमाली क्षेत्रमा भने बिहीबार पनि आंशिक वर्षाको सम्भावना रहनेछ । शुक्रबारदेखि भने देशभर मौसममा उल्लेख्य सुधार आउने अपेक्षा गरिएको छ ।
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले वर्षा भइरहेको मौसमविद्ले जनाएका छन् ।