काठमाडौं । मकवानपुरमा सञ्चालन हुने आठौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी बैशाख १७ गतेदेखि सुरु हुने भएको छ। आयोजकले मंगलबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी गराएको हो।
बागमती खेलकुद विकास समितिका संयोजक रहरसिं थिङका अनुसार प्रतियोगिता बैशाख १७ देखि २६ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा आयोजकसहित कुल १० टोलीको सहभागिता रहनेछ।
बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले हरेक वर्ष फाल्गुनमा आयोजना हुँदै आएको गोल्डकप यस वर्ष अन्य लिग प्रतियोगिताका कारण केही पछाडि सारिएको जानकारी दिए। साथै, गाउँपालिकाले खेल क्षेत्रको विकासका लागि लगानी बढाउँदै आफ्नै रंगशाला निर्माण र खेल एकेडेमी सञ्चालन गर्ने तयारी गरेको पनि उनले बताए। गोल्डकप आयोजनाका लागि गाउँपालिकाले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
प्रतियोगितामा मलेसियाको पेनाङ फुटबल क्लबसहित चर्च ब्वाईज युनाइटेड, मछिन्द्र क्लब, एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, फ्रेन्ड क्लब, प्लानिङ ब्वाईज युनाइटेड, बागमती युथ क्लब, जीतपुर सिमरा क्लब र आयोजक टोली सहभागी हुनेछन्।
प्रतियोगिता बागमती गाउँपालिका-४ स्थित शहीद स्मृति रंगशालामा सञ्चालन गरिनेछ। प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई १ लाख १ हजार रुपैयाँ, विधागत उत्कृष्ट खेलाडीहरूलाई जनही २५ हजार रुपैयाँ र प्रत्येक खेलको म्यान अफ द म्याचलाई १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।