काठमाडौं । कर्णाली प्रदेशको जुम्लास्थित पातारासी गाउँपालिकामा विश्वकै सातौं ‘हाइअल्टिच्युड ट्रेनिङ सेन्टर’ निर्माणको प्रक्रिया अगाडि बढ्ने भएको छ। लामो समयदेखि जग्गा अभावका कारण रोकिएको परियोजनाले अन्ततः गति पाएको हो।
स्थानीय बासिन्दाले निःशुल्क रूपमा जग्गा उपलब्ध गराएपछि निर्माणको बाटो खुलेको हो। पातारासी-३ लोठचौरका स्थानीयले ६ हजार १ सय २० वर्गमिटर जग्गा उपलब्ध गराएका छन्, जसले परियोजनालाई व्यवहारमा कार्यान्वयन गर्ने आधार तयार भएको छ। जिल्ला खेलकुद विकास समिति जुम्लाका प्रमुख कविदत्त न्यौपानेले उक्त जग्गाको लालपुर्जा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहतालाई हस्तान्तरण गरिसकेको जानकारी दिएका छन्।
२०७४ सालमा सम्भाव्यता अध्ययन सम्पन्न भए पनि जग्गा सुनिश्चित नहुँदा वर्षौँसम्म बजेट खर्च हुन नसकी फिर्ता जाने अवस्था थियो। गत आर्थिक वर्षमा मात्रै करोडौँ रकम फ्रिज भएको थियो। अब भने बजेट कार्यान्वयनको स्पष्ट मार्ग खुलेको सरोकारवालाहरूले बताएका छन्।
समुद्र सतहबाट करिब २,८५० मिटर उचाइमा निर्माण हुने यो केन्द्र विश्वकै उच्च स्थानमा रहेका प्रशिक्षण स्थलमध्ये एक हुनेछ। निर्माण सम्पन्न भएपछि यहाँ भलिबल, फुटबल, कराँते, बक्सिङ, तेक्वान्दो, बास्केटबल र एथलेटिक्सलगायत विभिन्न खेलका लागि पूर्वाधार तयार गरिनेछ।
साथै, स्विमिङ पुल, छात्रावास, पाहुनाघर र सुरक्षा संरचनासहितको आधुनिक ‘स्पोर्ट्स कम्प्लेक्स’ निर्माण गर्ने लक्ष्य राखिएको छ। यस परियोजनाले पातारासी क्षेत्रलाई अन्तर्राष्ट्रिय खेलग्रामका रूपमा विकास गर्ने अपेक्षा गरिएको छ।
यद्यपि, यस्तो ठूलो संरचनालाई दीगो बनाउन सडक पहुँच, स्वास्थ्य सेवा, सञ्चार सुविधा र नियमित हवाई सेवा आवश्यक पर्ने सरोकारवालाहरूले बताएका छन्।