काठमाडौँ । राजधानीका विभिन्न क्षेत्रमा गुण्डागर्दीमा संलग्न व्यक्तिविरुद्ध प्रहरीले विशेष अप्रेशन सञ्चालन गर्दै १८ जनालाई पक्राउ गरेको छ। अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको संयुक्त प्रयासमा उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको हो।
प्रहरीका अनुसार अभियानका क्रममा कुल १९५ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको थियो, जसमध्ये १८ जनालाई गुण्डागर्दीमा संलग्न देखिएपछि पक्राउ गरिएको हो। अपराध अनुसन्धान कार्यालयले १३ जना तथा जिल्ला प्रहरी परिसर काठमाडौँले ५ जनालाई विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको छ।
पक्राउ परेकामध्ये सुरेश गुरुङ उर्फ ‘किमजोङ’सहित सजिंव लामा, अशोक गिरी, वकिल वम, संजिव राई, राजकुमार तामाङ, बिनोद ठकुरी, शेर्पा लामा, राहुल राई, समेश तामाङ, सुन बहादुर तामाङ, वीर बहादुर लामा र महेश महत रहेका छन्।
त्यस्तै, जिल्ला प्रहरी परिसर काठमाडौँले प्रविण तामाङ (डिम्पल), बिर्जु महर्जन, सुजन कार्की, सरु हुमागाईं र विकि लामालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार यीमध्ये केही व्यक्तिहरू विभिन्न क्षेत्रमा सक्रिय गिरोहसँग आबद्ध रही लुटपाट, धम्की तथा अवैध असुली जस्ता गतिविधिमा संलग्न थिए।
प्रहरीले पक्राउ परेकामाथि सार्वजनिक शान्ति विरुद्धको कसुर तथा अन्य आपराधिक गतिविधिमा अनुसन्धान भइरहेको जनाएको छ। राजधानीमा आपराधिक गतिविधि नियन्त्रण गर्न यस्ता अप्रेशनलाई निरन्तरता दिने पनि प्रहरीले स्पष्ट पारेको छ।