काठमाडौं । इजरायल-अमेरिका र इरानबीचको युद्धसम्बन्धी अफवाह फैलाएको आरोपमा पश्चिम एसियाका विभिन्न मुलुकमा ११ जना नेपाली नागरिक पक्राउ परेका छन्।
परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो। मन्त्रालयका अनुसार पक्राउ पर्नेमा साउदी अरेबियामा चार, युनाइटेड अरब इमिरेट्स (यूएई) मा तीन, कतारमा तीन र ओमानमा एक जना रहेका छन्।
मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार क्षेप्यास्त्र तथा ड्रोन आक्रमणसँग सम्बन्धित तस्बिर र श्रव्यदृश्य सामग्री सामाजिक सञ्जालमा पोष्ट गरी डर-त्रास फैलाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो। त्यस्ता सामग्री पोष्ट गर्नु सम्बन्धित देशका कानुनविपरीत हुने भएकाले कडा कारबाहीको व्यवस्था रहेको छ।
प्रवक्ता क्षेत्रीले पक्राउ परेका नेपालीहरूको अवस्था बुझ्ने र आवश्यक परे कूटनीतिक पहलमार्फत सहयोग गर्ने काम भइरहेको जानकारी दिए। “उनीहरू कुन कानुनअन्तर्गत पक्राउ परेका हुन् र कस्तो सजाय हुन सक्छ भन्नेबारे सम्बन्धित दूतावासमार्फत जानकारी संकलन भइरहेको छ,” उनले बताए।
यसैबीच, मध्यपूर्व क्षेत्रमा देखिएको तनावका बाबजुद नेपाली कामदारले व्यापक रूपमा रोजगारी गुमाउनुपर्ने जोखिम नरहेको मन्त्रालयले जनाएको छ। विशेष गरी होटल, रेष्टुरेन्ट र पर्यटन क्षेत्रमा केही चिन्ता देखिए पनि समग्र रूपमा ठूलो असर नपरेको सम्बन्धित नियोगहरूले जानकारी दिएका छन्।
असुरक्षित महसुस गरी स्वदेश फर्किन चाहने नेपालीहरूको उद्धार कार्य निरन्तर जारी रहेको मन्त्रालयले जनाएको छ। ‘कल सेन्टर’मार्फत नागरिकहरूले उडान, घर फर्किने प्रक्रिया र श्रम स्वीकृतिबारे जानकारी लिइरहेका छन्।
मन्त्रालयका अनुसार हालसम्म ८६ हजार ४२० जनाले आफ्नो नाम दर्ता गराएका छन्। असुरक्षित महसुस गर्नेहरूको संख्या क्रमशः घट्दै गएको र धेरैजसोले अहिले सुरक्षित महसुस गर्दै पुनः काममै फर्किन थालेको जनाइएको छ। ट्रान्जिटमा अड्किएका नेपालीहरूको उद्धार कार्य लगभग सम्पन्न भइसकेको पनि मन्त्रालयले स्पष्ट पारेको छ।