काठमाडौं । सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने फिफा विश्वकप २०२६ को टिकट बिक्री अन्तिम चरणमा पुगेको छ। यसपटक टिकटको मूल्य र बिक्री प्रणालीका कारण विश्वभरका फुटबल समर्थकहरू आश्चर्यचकित र असन्तुष्ट बनेका छन्।
फाइनल खेलको एउटा साधारण टिकटको मूल्य १० हजार ९९० अमेरिकी डलर (झण्डै १४ लाख ६० हजार नेपाली रुपैयाँ) सम्म पुगेको छ। यसलाई विश्वकप इतिहासकै सबैभन्दा महँगो आधिकारिक साधारण टिकट मानिएको छ। तुलना गर्दा, फिफा विश्वकप २०२२ को फाइनलमा सबैभन्दा महँगो टिकट करिब १६ सय डलर मात्र थियो।
सुरुमा आयोजकहरूले फाइनल टिकटको मूल्य अधिकतम १५ सय ५० डलरसम्म हुने बताएका थिए। तर बिक्री खुल्दा मूल्य कयौँ गुणा बढेपछि समर्थकहरूले यसलाई ‘विश्वासघात’ को संज्ञा दिएका छन्। आयोजक FIFA ले यसपटक ‘डायनामिक प्राइसिङ’ प्रणाली लागू गरेको छ, जसअनुसार टिकटको माग बढ्दै जाँदा मूल्य पनि स्वतः बढ्दै जान्छ। यसले टिकटको निश्चित दरभाउ नहुँदा फ्यानहरू अन्योलमा परेका छन्।
अनलाइन टिकट खरिद प्रक्रिया पनि निकै जटिल बनेको छ। धेरै समर्थकहरूले ६ घण्टाभन्दा बढी समय प्रतीक्षा गर्नुपरेको गुनासो गरेका छन्। साथै, फिफाको वेबसाइटमा आएको प्राविधिक समस्याका कारण हजारौँ प्रयोगकर्ता गलत ‘लाइन’ मा परेका थिए, जसले गर्दा उनीहरूले टिकट पाउने अवसर गुमाए।
टिकट पुनःबिक्री बजारमा त मूल्य अझै आकासिएको छ। केही साइटहरूमा फाइनलको टिकट ८२ हजार ७८० डलर (करिब १ करोड १० लाख रुपैयाँ) सम्ममा बिक्रीका लागि राखिएको देखिएको छ। यस्तै, कर्पोरेट तथा भिआइपी प्याकेजहरू झन् महँगा छन्। लक्जरी सुइटसहित २४ वटा टिकट र खानापिनासहितको प्याकेजको मूल्य १ लाख २४ हजार डलर (करिब १ करोड ६५ लाख रुपैयाँ) सम्म पुगेको छ।
टिकटको यस्तो चर्को मूल्य र झन्झटिलो प्रक्रियाले गर्दा धेरै वास्तविक फुटबल समर्थकहरू निराश भएका छन्। कतिपयले यो विश्वकप धनी वर्गका लागि मात्र सीमित हुँदै गएको गुनासो समेत गरेका छन्।