एजेन्सी । मध्यपूर्वमा स्थायी शान्ति स्थापना गर्ने प्रयासअन्तर्गत इस्लामिक गणतन्त्र इरानले अमेरिका र इजरायलसामु आफ्ना चारवटा स्पष्ट मागहरू प्रस्तुत गरेको छ। रुसका लागि इरानका राजदूत काजेम जलालीले ताससँगको अन्तर्वार्तामा यी माग सार्वजनिक गर्दै भने, “हामी मध्यस्थकर्ताहरूको भूमिका र प्रयासको उच्च कदर गर्छौं तर शान्ति केवल यी प्रतिबद्धताहरूको पूर्तिमा निर्भर गर्दछ।”
इरानले पेश गरेको चार बुँदामा प्रमुख रूपमा समावेश छन्: पहिलो, क्षेत्रीय आक्रमण र आतंकवादी हमलाहरूको निश्चित र पूर्ण अन्त्य- दोस्रो, आक्रमण वा युद्ध पुनः सुरु नहुने वस्तुपरक र विश्वसनीय ग्यारेन्टी (प्रतिभूति) को व्यवस्था- तेस्रो, भौतिक र नैतिक क्षतिको पूर्ण क्षतिपूर्तिस र चौथो, अन्तर्राष्ट्रिय समुद्री सुरक्षा सुनिश्चित गर्ने उद्देश्यका लागि हर्मुज जलयोजकमा इरानको कानुनी क्षेत्राधिकारको सम्मान।
जलालीले भने, “हामी क्षेत्रीय स्थिरता र सुरक्षा कायम गर्न गरिने कुनै पनि रचनात्मक र इमानदार प्रयासलाई सधैं स्वागत गर्छौं। यद्यपि न्यायोचित शान्ति र स्थायी युद्धविराम प्राप्त गर्नका लागि कुनै पनि पहल वा योजनामा धरातलीय यथार्थलाई ध्यान दिनु अपरिहार्य छ र यी कानुनी तथा राजनीतिक सर्तहरू पूरा हुनु आवश्यक छ।”
राजदूत जलालीले थपे कि खतराको स्रोत पूर्ण रूपमा समाप्त नभएसम्म इरानले आफ्नो अविच्छिन्न आत्मरक्षाको अधिकार प्रयोग गर्दै जानेछ। उनले भने, “साझेदारहरूसँगको परामर्शमा तेहरानले रुस लगायत आफ्ना रणनीतिक सहयोगीसँग विचार आदानप्रदान र समन्वयलाई सधैं आफ्नो कूटनीतिक एजेन्डामा समावेश गर्छ।”
यस कदमले इरानले क्षेत्रीय शान्ति र सुरक्षा कायम राख्नका लागि स्पष्ट र कडाइपूर्ण रणनीति अपनाएको संकेत दिएको छ। शान्ति स्थापनाका लागि प्रस्तुत यी चारवटा शर्तहरू आगामी कूटनीतिक वार्तामा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।