काठमाडौं । कम्बोडियामा अवैध अनलाइन स्क्यामिङ केन्द्र तथा क्यासिनोमा फसेका थप ८ जना नेपाली नागरिकको उद्धार गरिएको छ। बैंककस्थित नेपाली राजदूतावास, कम्बोडिया सरकार तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) को समन्वयमा उनीहरूको उद्धार गरी स्वदेश फर्काइएको हो।
राजदूतावासका अनुसार पछिल्लो समय आकर्षक तलबको प्रलोभनमा भिजिट भिसामा कम्बोडिया पुग्ने नेपालीहरू बन्धक बन्ने र अनलाइन ठगीमा संलग्न हुन बाध्य हुने घटना तीव्र रूपमा बढिरहेको छ। समस्यामा परेका धेरै नेपालीहरूलाई यसअघि नै उद्धार गरी नेपाल फर्काइसकिएको जानकारी पनि दिइएको छ।
दूतावासले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२१ मा १०१ जना नेपाली कम्बोडिया पुगेका थिए भने सन् २०२५ सम्म आइपुग्दा यो संख्या बढेर ९,६७६ पुगेको छ, जसले जोखिमको अवस्था गम्भीर बन्दै गएको संकेत गर्छ।
स्क्यामिङ केन्द्रहरूमा काम गराउनेहरूले कामदारहरूको राहदानी जफत गर्ने तथा स्वतन्त्र रूपमा हिँडडुल गर्न नदिने गुनासोहरू समेत बढ्दै गएका छन्। यसलाई ध्यानमा राख्दै दूतावासले अलपत्र परेका नेपालीहरूलाई स्वदेश फर्काउन निःशुल्क एकतर्फी यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) उपलब्ध गराउने व्यवस्था मिलाएको जनाएको छ।
कम्बोडियामा अलपत्र परेका वा भिसा अवधि सकिएर बसिरहेका नेपालीहरूलाई तुरुन्तै नेपाली राजदूतावास वा एनआरएनए कम्बोडियाका प्रतिनिधिहरूसँग सम्पर्क गर्न आग्रह गरिएको छ।
साथै, दूतावासले छिटो र धेरै पैसा कमाउने लोभमा भिजिट भिसाको दुरुपयोग गर्दै कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्ड जस्ता मुलुकहरूमा नजान नागरिकहरूलाई कडा चेतावनी दिएको छ।
वैदेशिक रोजगारीमा जान चाहने नेपालीहरूले नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरी अनिवार्य रूपमा श्रम स्वीकृति लिएर मात्र विदेश जानुपर्ने दूतावासको आग्रह छ।